| सोमवार, कार्तिक २३, २०८३

मुआब्जा छिटो देउ

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घर गोठको मुआजा निर्धारण भएको दुइ साता बित्यो । अहिले मुआब्जा छिटो लिन प्रभावित क्षेत्रका सर्वसाधारण हतारिएका छन् । जग्गाको मुआब्जा निर्धारण भएको चार वर्षपछि घरगोठको मुआब्जा निर्धारण भएको हो । निर्धारण भएको मुआब्जा कहिलेबाट हुन्छ भन्नेमा स्थानीय उत्साहित छन् ।

मुआब्जा छिटो पाउन पाए अन्यत्र घर जग्गाको जोहो गर्ने योजनामा बिस्थापितहरु छन् । यसअघि जग्गाको मुआब्जा बितरण गर्दा चरण चरणमा दिइएको थियो । पहिले मुआब्जा पाएकाले अन्यत्र जग्गा केही सस्तोमा खरिद गरे भने ढिला मुआब्जा पाएकाले महँगो पैसा तिर्नुपरेको गुनासो गरेका थिए । अहिले घरगोठ, बोटबिरुवाको मुआब्जा कसरी बितरण हुन्छ ? पहिले कसले पाउँछ ? भन्नेमा स्थानीय अलमलमा छन् ।

आयोजना कार्यालयले मुआब्जा पाउनेहरुलाई निवेदन दिन भनेको छ । वडा कार्यालयमा बूढीगण्डकी जलविद्युत आयोजना कार्यालयले फारम पठाएको छ । प्रभावितक्षेत्रका स्थानीयले त्यो फारम भरेर वडा कार्यालय मार्फत आयोजना कार्यालयमा पेश गर्नुपर्छ । तर अधिकासं बिस्थापित आफैँ फारम बोकेर आयोजना कार्यालय सिउरेनीटार पुगेका छन् ।

त्यहाँ पुग्दा छिटो मुआब्जा आउने आशा उनीहरुलाई छ । यस अघि कार्यालयबाट नजिक रहेका साविकको गाविसबासीलाई जग्गाको मुआब्जा पहिले दिइएको थियो । मुआब्जा खातामा पठाउने समय महिनौँ फरक थियो । स्थानीय आक्रोशित भएका छन् । अहिले मुआब्जा बितरण गर्दा सबैलाई एकैपटक दिन सक्ने गरी आयोजना कार्यालय तयार हुनुपर्ने देखिन्छ । एकैदिन दिन सकिन्न भनेपनि एक महिना भित्र सबै बिस्थापितले मुआब्जा रकम पाउने गरी योजना बनाउन सक्नुपर्छ ।

मुआब्जा बितरण गर्दा यस अघि जग्गाको बितरण भएको बैंक मार्फत सोही खातामा राख्ने ब्यवस्था गर्नुपर्छ । यसले मुआब्जा छिटो बितरण गर्न कार्यालयलाई सजिलो हुन्छ । यस अघि चेक बुक लिएर बसेका बिस्थापितलाई सोही खातामा रकम आउँदा लिन पनि सजिलो हुन्छ । अन्यथा वृद्धवृद्धालाई खाता खोल्न आउनुपर्ने, नयाँ बैंकमा खाता खोल्नुपर्ने हुँदा झन्झट थपिन्छ । मुआब्जा निर्धारण समिति र कार्यालयले नयाँ बैंक खोजेर मुआब्जा दिने प्रयास गरेको खण्डमा आर्थिक चलखेलको आरोप पनि लाग्ने खतरा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्