| सोमवार, कार्तिक २३, २०८३

फुक्ला त गठबन्धनको गाँठो ?

गोरखामा माओवादी र कांग्रेसको गठबन्धन गर्ने बिषय फलामको चिउरा चपाउनु सरह भएको छ । मुख्य प्रतिस्पर्धी दल बीच गठबन्धन भएमा बाँकी दलसितको निर्वाचन कार्यक्रम अत्यन्त कम प्रतिस्पर्धापूर्ण हुने, निर्वाचनपूर्व नै विजेता घोषणा गरेपनि हुने, मतदान गरेर राज्यको ढुकुटी खर्च गर्नुसरह हुने टिप्पणी छ ।

बिगतमा, जसले सक्यो, उसले सिध्याउने भनेर प्रमुख दुश्मनका रुपमा उत्रिएका यी दुई पार्टी बीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । केन्द्रमा निर्णय भए पनि जिल्ला तहमा सहजै टुंगो लगाउने अबस्था छैन । अहिलेसम्म कुन पार्टीलाई कति सिट दिने भन्ने बारे टुंगो लागेको छैन । टुंगो तर परको कुरा, यस बिषयमा छलफल नै सुरु भएको छैन ।

कांग्रेस आफूले यसअघि धेरै पालिका नेतृत्व गरेकाले त्यत्तिबाट घट्न मानेको छैन, माओवादी गोरखा लगायतका जिल्ला आफ्ना आधार किल्ला भएकाले धेरै सिटको दाबी गर्ने मनाशयमा छ ।

जसपाले दाबी गर्ने जिल्ला पनि यही हो । उसलाई कुन, कुन पालिका दिने भन्ने बारे छलफल सुरु भएको छैन । गठबन्धन गरेमा पार्टीले सीमित स्थानमा चुनाव त जित्ने तर राजनीति हार्ने टिप्पणी पनि भइरहेका छन् । संगठन तहसनहस हुने, घात( प्रतिघात हुने लगायतका शंका, उपशंका उब्जिएका छन् ।

विषम परिस्थितिका बाबजुद वडाअध्यक्ष तथा पालिका प्रमुखका आकांक्षीहरुले आवेदन हाल्ने क्रम चलिरहेको छ । दरखास्त केलाउँदा उम्मेद्वार हुन चाहनेको संख्या उल्लेख्य छ । उनीहरुको नामबाट साझा नाम जुराउन हम्मेहम्मे पर्ने पार्टीका नेताहरु बताउँछन् ।
तर गठबन्धनको गाँठो पो फुक्छ कि फुक्दैन, कसरी फुक्छ ?

आवश्यकता, औचित्यता र परिस्थितिका आधारम गठबन्धन गर्नुपर्छ नत्र एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्ने कार्यकर्ताको माग छ । यस्तो परिस्थितिमा फुक्ला त गठबन्धनको गाँठो ?

प्रतिक्रिया दिनुहोस्