
आपराधिक घटना लेनदेनमा मेलमिलाप
आपराधिक घटना अप्ठ्यारो नै हुन्छन् । त्यसैले सितिमिति यस्ता घटना हुनै नदिनु सबैभन्दा वुद्धिमानी हुन्छ । असजिलो नपरुञ्जेल साथ दिनेहरु पनि जब आपराधिक घटना घट्छन्, तब त्यसबाट ओभानो बस्न खोज्छन् । सजिलो पर्दा अघिपछि पर्नेहरु असजिलो अबस्था आउँदा ढेम्किन खोज्दैनन् ।
अझै जो समाधानमा भूमिका खेल्नु पर्ने पक्ष हो, उनीहरु पनि यस्ता घटना बेहोर्नु नपरे हुन्थ्यो भनेर टक्टकिन खोज्छन् । कानूनी प्रक्रियामा नआई पिडित, पिडक परस्पर मिल्दिए हाइसञ्चो हुन्थ्यो भन्ने उनीहरुको मनाशय हुन्छ ।
बिगतका कैयौँ घटनाले यस्तै देखाउँछ ।
कैयौँ बोक्सी आरोपका घटना प्रहरीसम्म आइपुगेनन् । कैयौँ घटना आएर पनि गेट बाहिरै मिलेर फर्किए । कैयौं बलात्कारका घटना घरबाहिर निस्किएन । घरबाट निस्किएका कैयौँ त्यस्ता आपराधिक घटना समाजभित्रै गुपचुप भए । कैयौँ शंकास्पद हत्याका घटना एकाधभित्रै सीमित रहे । कैयौँ त्यस्ता घटना प्रहरीको गेटबाहिरैबाट फर्किइए ।
जब यस्ता आपराधिक घटना हुन्छन्, तब कानूनको गेटबाहिरको एउटा शक्ति मेलमिलापमा सक्रिय रहेको पाइएको छ । उनीहरु पिडित र पिडकलाई जुधाएर मोटो रकम बोलकबोल गराएर गेटबाहिरै मिलाउन लागि पर्छन् । उनीहरु कहिले पिडित र पिडकलाई संगसंगै भिडाउँछन्, कहिले अलग अलग भेट्छन् । पिडितसंगको भेटमा कानूनी झण्झटको पाटो देखाएर, कानून अन्धो हुन्छ भन्ने उदाहरणका नालीबेली सुनाएर रकम लेनदेनमा मिल्न प्रोत्साहित गर्नेगर्छन् । फेरि पिडकलाई कानूनको अजंगको रुप देखाएर तर्साएर मोटो रकममा मेलमिलाप गर्न हौस्याउँछन् ।
अनि पिडितले अपेक्षा गरेभन्दा धेरै रकम पिडकसित असुलेर पिडित र आफूहरु बाँडिचुँडी लिन्छन् ।
कानूनालयको गेटबाहिर चलखेल गर्ने यस्ता शक्तिको बारेमा खोजी गर्नु जरुरी छ । सबैखाले आपराधिक घटनामा पिडकलाई कानूनी कारबाही र पिडितलाई न्यायको प्रत्याभूति गराउनु जरुरी छ ।




