| मङ्लबार, कार्तिक २४, २०८३

प्रथम शहीद लखन थापाप्रति गलत व्याख्या गरेको भन्दै मगर संघको आपत्ति

नेपालका प्रथम शहीद लखन थापा हुनुपर्नेमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बक्तव्यबाजी गरेको भन्दै नेपाल मगर संघ गोरखाले ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले ओली र विश्वभक्त दुलाल(आहुती) लगायत केही व्यक्तिहरुले ऐतिहासिक तथ्य प्रमाणहरुको गलत व्याख्या गरी प्रथम शहीद थापाका बारेमा भ्रामक अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको हो ।

ऐतिहासिक खोज अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणसहित नेपाल सरकारले गठन गरेको उच्चस्तरीय समितिद्वारा सिफारिस गरेका शहीद सम्बन्धी मापदण्डका आधारमा लखन थापालाई नेपालको प्रथम शहीद भनी घोषणा गरिएको नेपाल मगर संघ जिल्ला समितिका गोरखाका अध्यक्ष विष्णु रानामगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तत्कालिन सँस्कृति मन्त्री कृपासुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रीपरिषदले वि.सं. २०७२ असोज ३ गते शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको उनले जनाए ।

प्रथम शहीद लखन थापा मगर लगायत सबै शहीदहरुको निजी स्वार्थका लागि गलत प्रचार गर्नु शहीदहरुप्रतिको अपमान भएको उनको जिकिर छ । ‘निरंकुश जहाँनियाँ राणा शासनको विरुद्धमा पहिलो पटक संगठित जनविद्रोहको नेतृत्व गर्ने लखन थापा मगर र उनका सहयोद्धाहरुलाई सम्मान गर्नुपर्छ । उनीहरुप्रति भ्रामक अभिव्यक्ति दिने अधिकार कसैले छैन’, विज्ञप्तिमा भनिएको छ । निजी स्वार्थका लागि ज्यान गुमाएका र शहीद सम्बन्धी मापदण्ड भित्र नपर्ने पात्रलाई प्रथम शहीदको रुपमा स्थापित गर्न खोजिएको उनको आरोप छ । आगामि निर्वाचनका लागि चुनावी अस्त्रको रुपमा प्रयोग गर्न गरिएको कोशिषप्रति मगर संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

ऐतिहासिक तथ्यका आधारमा नेपालको प्रथम शहीद लखन थापा मगर भनेर स्थापित भईसकेको र उनको नेपाल र नेपाली जनताको मुक्ति र न्यायको पक्षमा गरेको बलिदानी र योगदानको तुलना अन्य व्यक्तिसँग हुनै नसक्ने विज्ञप्तिमा भनिएको छ । त्यसैले यस्ता गलत, भ्रामक र तथ्यहिन कुराहरु नगर्न नगराउन समेत मगर संघले अनुरोध गरेको छ । साथै गलत र तथ्यहिन कुरालाई सच्याउन र सच्चित समेत मगर संघले अनुरोध गरेको छ ।

निरंकुश जहानियाँ राणाशासनको विरुद्धमा पहिलो पटक संगठित जनविद्रोहको नेतृत्व गरेका कारण प्रथम शहीद लखन थापा सहित उनका सहयोद्धाहरुलाई वि.सं. १९३३ फागुन २ गते तत्कालिन शासक जङ्गबहादुरको आदेशद्वारा गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं . ७, बुंकोट काहुले भङ्गारमा उनकै घर अगाडिको खिर्राको रुखमा निमर्मतापूर्वक मृत्युदण्ड दिईएको इतिहासका पानामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्