
नतिजा नआउनुमा परीक्षार्थी बढि दोषी रहेको कार्यालयको आरोप !
अश्विन दानी । शैक्षिक सत्र २०७४÷२०७५ सालमा गोरखा जिल्लाबाट एसईई परीक्षा दिएका परीक्षार्थी मध्ये एकसय १२ जनाको नतिजा सार्वजनिक भएको छैन् । राष्ट्रिय परीक्षा बोर्डले गत असार नौ गते सार्वजनिक गरेको नतिजामा गोरखाबाट एसईई दिने एकसय १२ जना बिद्यार्थीहरुको नतिजा सार्वजनिक नभएको हो ।
२०७४ सालमा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये चार हजार छ सय ९४ जना विद्यार्थीको मात्रै नतिजा सार्वजनिक भएको शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।
नतिजा रोकिनुमा परीक्षार्थीकै गल्ती भएको इकाइले जनाएको छ । ‘परीक्षार्थीको सामान्य गल्तिकै कारण उनीहरुको नतिजा सार्वजनिक हुन नसकेको हो’ शिक्षा बिकास तथा समन्वय अधिकारी खेमराज पौडेल भन्छन्, ‘परीक्षा दिँदा बिद्यार्थीहरुले उतर पुस्तिकामा सिम्वोल नम्बर गलत लेखेकाले, उमेर नपुगेकाले, कसैको प्राक्टिकल नम्वर नगएकाले जस्ता कारणले उनीहरुको नतिजा सार्वजनिक हुन नसकेको हो । तर, हामीले यहाँबाट सम्बिन्धत ब्यक्तिको नाउमा सिफारीस गरी परीक्षा वोर्डमा पठाइदिन्छौँ । त्यसै अनुसार उनीहरुले फेरि नतिजा पाउने छन् ।’ नतिजा ग्रेडिङ प्रक्रियामा आउन थालेपछि गोरखामा पहिलो पटक सबै बिद्यार्थीहरुको नतिजा सार्वजनिक हुन नसकेको उनले बताए ।
२०७४ सालमा गोरखा जिल्लाबाट जम्मा चार हजार आठ सय छ जना बिद्यार्थीले परीक्षाका सहभागी भएका थिए । सहभागी बिद्यार्थी मध्ये दुई हजार ३४ जना छात्र र दुई हजार दुईसय ६८ जना छात्रा सहभागी रहेको कार्यालयको तथ्याङकले जनाएको छ ।
हाल शिक्षा बिभागबाट प्राप्त तथ्याङ अनुसार गतबर्ष जिल्लाबाट एसईई परीक्षामा सहभागी बिद्यार्थीमध्ये ३.४ देखि ४.० सम्म ल्याउने बिद्यार्थीहरु ७३ जना, ३.२ देखि ३.६ सम्म ल्याउने दुईसय ८० जना, २.८ देखि ३.२ सम्म ल्याउने छसय ४७ जना, २ं.४ देखि २.८ सम्म एक हजार तीनसय ३० जना, २.० देखि २.४ एक हजार छसय ८३ जनाले औसत ग्रेड अङ्क ल्याएका छन् । त्यस्तै, १.६ देखि २.० सम्म छसय ३० जना, १.२ देखि १.६ सम्म ५४ जना, ०.८ देखि १.२ सम्म तीन जनाले औसत ग्रेड अङ्क प्राप्त गरेका छन् ।
अघिल्लो दुई बर्षको तुलनामा यस बर्षको बिद्यार्थीहरुको नतिजा हेर्दा ग्रेडिङमा सकारात्मक सुधार आएको पौडेलको भनाई छ । ‘औसतमा हेर्दा गत बर्षको तुलनामा नतिजा राम्रै छ’ उनले भने ‘तर, कोही बिद्यार्थीहरुको नतिजा सार्वजनिक नहुँदा सन्तुष्ट मान्ने अबस्था छैन् । उनीहरुको पनि नतिजा पाउनका लागि हामी सिफरीस गर्दिन्छौँ ।’ परीक्षा दिँदा आफुले समावेश गर्नुपर्ने बिबरणहरु ध्यान दिएर नलेख्दा समस्या झेल्नु पर्ने उनले बताए । परीक्षा नियन्त्रण कार्यालयले भने बिभिन्न कारण नतिजा समयमा दिन छुट हुनुमा कार्यालयको गल्ती पनि रहेको स्वीकार गरेको छ । सच्याउन आउनेको सच्याइदिएको कार्यालयले जनाएको छ ।




