| मङ्लबार, कार्तिक २४, २०८३

वडामा उम्मेद्वार छान्दै गोरखाका दलहरु, गठबन्धन दलको बैठक आज

गोरखाका राजनीतिक दलहरुले वडा स्तरमा धमाधम उम्मेद्वार चयन गर्न थालेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एकीकृत समाजवादी पार्टीले वडा तहमा उम्मेद्वार चयन गर्न वडा समितिलाई निर्देशन गरेसँगै धमाधम नाम सार्वजनिक हुन थालेको छ । अधिकांश ठाउँमा एउटै दलभित्र धेरै आकांक्षी देखिएपछि पालिका र जिल्लामा सिफारिस गर्ने क्रम सुरु भएको छ ।

नेकपा एमालेले चैत २८ गतेसम्म वडा, गाउँपालिका तथा नगरपालिकाको उम्मेद्वार चयन गरिसक्ने जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए । ‘केन्द्रीयदेखि जिल्ला, पालिका, वडासम्मको पार्टीको अधिवेशनहरु सर्वसम्मत गरेको एमालेले उम्मेद्वार पनि सर्वसम्मत गर्नेछ’ अध्यक्ष गुरुङले भने, ‘पालिकास्तरमा केही ठाउँमा धेरै आकांक्षी हुनुहोला, हामी आन्तरिक रुपमा मिलाउँछौँ ।’

वडा र पालिकाले टुङ्गो लगाएको दुईदिनभित्र जिल्लाले उम्मेद्वार चयन गर्ने उनले बताए । चैत मसान्तसम्म नेकपा एमालेले वडा, पालिकाको उम्मेद्वार छनौट गर्ने जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलहरु बीच चुनावी तालमेल हुने विषयमा उनले राजनीति र बिचार नमिल्नेहरु कहिँकतै मिल्ने नसक्ने दावी गरे । ‘गठबन्धनले परिणाममा केही फरक पर्न सक्छ’, उनले भने, ‘तर यसले नेकपा एमालेलाई घाटा गर्दैन, फाइदा गर्छ ।’

नेपाली कांग्रेस गोरखाले वडा समितिलाई उम्मेद्वारको नाम सिफारिस गर्न आईतवारसम्मको समय दिएको थियो । केही वडामा सर्वसम्मत उम्मेद्वार चयन भएपनि अधिकांशमा दुईदेखि सातजनासम्म आकांक्षी रहेका छन् । ‘वडा समितिले सोमवार पालिकालाई उम्मेद्वारको नाम बुझाउनेछन्’, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने ‘पालिकाले क्षेत्रीय समितिलाई र जिल्लासम्म चैत २७ गते आईपुग्नेछ ।’ क्षेत्रसम्म पनि नटुङ्गिएमा जिल्लाले उम्मेद्वार टुङ्ग्याउने उनले बताए ।

चार दलीय गठबन्धनको बैठक आज बस्ने उनले बताए । ‘बैठकमा दलहरु बीच बर्तमान अवस्थाको बारेमा छलफल हुनेछ’, उनले भने । केन्द्रको नीति, निर्देशन र स्थानीय आवश्यकता अनुसार चुनावी सहकार्य हुन सक्ने उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले आन्तरिक रुपमा उम्मेद्वार ‘को हुने’ भन्ने विषयमा गृहकार्य भएपनि अहिले गठबन्धनको तर्फबाट अघि बढिरहेको बताए । ‘सबै पालिकामा गठबन्धन गर्ने गरी चार दलीय बैठकअघि बढिरहेको छ’, उनले भने । पालिका र वडा स्तरमा पनि गठबन्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा दलहरु बीच स्थानीय स्तरमा छलफल चलिरहेको उनले बताए । सोमवारको बैठकमा सबै दलले आफ्नो धारणा राख्ने र बस्तुगत अवस्थाको बारेमा जानकारी गराउने उनले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले उम्मेद्वार छनौटको प्रक्रिया चलिरहेको बताए । ‘कतिपय ठाउँमा छनौट भईसक्यो, एक दुई दिनमा सबै वडामा सकिन्छ’ उनले भने, ‘केही ठाउँमा उम्मेद्वारको आकांक्षी धेरै छन् । समस्याको आन्तरिक रुपमै हल गर्छौँ ।’ सोमवार हुने गठबन्धनको बैठकपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले पार्टीले आन्तरिक तयारी गरिरहेको बताए । ‘गठबन्धन गर्ने विषयमा केन्द्र र प्रदेशबाट पनि निर्देशन भए अनुसार जिल्लामा प्रक्रिया अघि बढेको छ’, उनले भने । एक्लै उम्मेद्वारी दिनुपर्दा पनि तयारी गरिएको उनले बताए । चुनावी तालमेल गर्नुपर्दा पनि उम्मेद्वार भने तय भएको बताउँदै उनले भने, ‘सोमवार रिपोर्ट सहित गठबन्धन दलहरुको बैठक बस्नेछ’, उनले भने ।

गठबन्धनमा रहेका दलहरु बीच सोमवार गोरखा सदरमुकाममा बैठक बस्दैछ । नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा मगर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष यादव बस्नेत र जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट सदस्य रहेको समिति गठन भएको छ । सोमवारको बैठकमा गठबन्धनका सदस्यसहित एउटा पार्टीबाट तीन÷तीन जना सहभागी हुनेछन् । बैठकले गर्ने निर्णयको बारेमा भने दलहरुमा कुनै पूर्वानुमान छैन ।

प्रतिक्रिया दिनुहोस्