
पृथ्वीनारायण साना सहरी खानेपानी उपभोक्ता समिति विवादरहित बनाऊ
गोरखा सदरमुकाम बजारमा खानेपानी वितरण गरिरहेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था स्थापनादेखि नै विवाद–विवादमै गुज्रिरहेको छ । गोरखा बजारका करिब छ सय घरधुरीलाई खानेपानी वितरण गर्दै आएको सो आयोजना उद्घाटनै नभै १५ औँ बर्ष बिताइसकेको छ ।
यो अवधिमा धेरै रडाको र आरोप खेपिरहेको छ ।
गत शुक्रबार आयोजना गरिएको अधिवेशन पनि विवादित बन्यो । अवधि गुजारेर बल्लतल्ल हुन लागेको अधिवेशन पनि रडाकोकै कारण स्थागित भएको छ । उपभोक्ता नै नभएको व्यक्तिको नाम प्रतिनिधिको रुपमा आएको विषयमा विवाद भएपछि अधिवेशनको प्रक्रिया रोकिएको हो ।
बिगतका बर्षहरुमा पानी पर्याप्त तथा नियमित वितरण गर्न नसकेको, वितरित पानी पनि प्रदुषित भएको, प्राविधिक गडबडी भयो भने मर्मतसम्भार गर्न हप्तौँ लाग्ने गरेको इत्यादि आरोप यसअघि खेप्दै आएको थियो । यसमा यो बर्ष सुधार देखिन्छ । प्राविधिक गडबडीका कारण पानी वितरण खासै रोकिएको छैन । कथंकदाचित रोकिएमा मर्मतसम्भार पनि समयमै भएको छ ।
तर समिति गठन प्रक्रिया विवादित बन्यो ।
विवादित विषयलाई सत्यतथ्य पत्ता लगाई आगामि दिनमा यस्ता हर्कत हुन नसक्ने गरी समाधान गरी आउँदो दिन अधिवेशन सम्पन्न होओस् ।
सदरमुकामको केन्द्र बजारमा पानी वितरण गर्ने संस्था भएकाले पनि यस संस्थामा धेरैको आँखा लागेको हुनसक्छ । संस्थाप्रति कुदृष्टि नराखी यसलाई सुधार गर्ने लक्ष्य राखी सद्भाव राखी काम र कुरा गर्नुपर्छ । कुत्सित स्वार्थ मनभित्र पालेर यस संस्थालाई ठुँग्नु भन्दा सबै मिलेर संस्थालाई अघि बढाए राम्रो हुनेछ ।
संस्थामा रहने भनेको सामाजिक भावना भएका व्यक्ति हो । निजी स्वार्थ पूरा गर्ने लक्ष्य भए व्यापार व्यवसाय गर्नु बेस हुन्छ ।




