
गोरखा सेवा समाजद्वारा ३५ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
गोरखा सेवा समाज नेपालले गोरखाका बिभिन्न विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको समाजका अध्यक्ष इमानजंग बानियाँले बताए ।
गोरखा सेवा समाज कतारले सहयोग गरेको २५ लाखको अक्षयकोषबाट जम्मा भएको रकमले ३५ जना विद्यार्थीलाई छात्रवृत्रि वितरण गरिएको उनले बताए ।
प्राबि स्तरका १७, निमावि स्तरका ११ जना र मावि स्तरका ७ जनालाई स्कुल ब्याग, ड्रेस र स्टेशनरी सामाग्री बितरण गरेको समाजले जनाएको छ । माध्यामिक तहका विद्यार्थीलाई १० हजार, निमाविका विद्यार्थीलाई ७ हजार र प्राविमा अध्ययनतर विद्यार्थीलाई पाँच हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा बिगत ६ वर्षदेखि काम गर्दै आएको छ ।
कार्यक्रममा संस्थाका निवर्तमान सचिव तथा हालका उपाध्यक्षमा गणेश वानियाँले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजले विभिन्न समयमा शैक्षिक क्षेत्र विकासका लागि आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाई छात्रवृत्ती वितरण, विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचानल गर्दै आइरहेको र विपद्मा परेकाहरुलाई पनि सहयोग गर्दै आएको छ ।
अधिवेशनमा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, बिशेष अतिथि शिक्षा बिकास तथा समन्वय ईकाइ गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई तथा गोरखा सेवा समाज नेपालका सल्लाहकार सुदर्शन भट्ट, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा सेवा समाज कतारका संरक्षक श्रीकृष्ण भट्टराई र गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले मन्तब्य राखेका थिए ।




