
गोरखामा चुनावी तालमेल गर्न सत्तामा रहेको दलहरुको संयन्त्र गठन
आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा गोरखामा सत्ता गठबन्धनका दलहरु बिच छलफल सुरु भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुको छलफलले चुनावी तालमेल गर्न संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्ट संयन्त्रको सदस्यमा छन् ।
शुक्रवारको बैठकले केन्द्रिय संयन्त्रले दिएको निर्देशनलाई कार्यन्वयन गर्ने निणर्य पनि गरेको छ । यो निणर्यले केन्द्रकै समिकरण अनुसार जिल्लामा चुनावी तालमेल हुने संकेत बढाएको छ ।
गठबन्धनमा जिल्ला भित्र रहेका दलहरु बिच सुमधुर सम्बन्ध कायम गर्न जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एक आपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आफ्ना दलका नेता तथा कार्यकर्तामा अपिल गर्ने निणर्य पनि बैठकले गरेको छ ।
शुक्रवारको बैठकमा नेपाली कांग्रेसको तर्फबाट सचिव कृष्णबहादुर आले, सह सचिव लुमनाथ लामिछाने, सदस्य राजनराज पन्त, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल पनि सहभागी थिए ।




