| मङ्लबार, कार्तिक २४, २०८३

एक तिहाई मतदाता भोट हाल्दैनन्, बदर मतको संख्या पनि त्यस्तै

शिव उप्रेती :

अहिले जताततै स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । राजनीतिक दल भोट माग्न गाउँगाउँमा छन् । केन्द्रमा गठबन्धनको गठजोड चलिरहेको छ । निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । तर राजनीतिप्रति निराश हुने र मतदान प्रक्रियामा सहभागी नहुनेको संख्या पनि बढ्दै गएको देखिएको छ ।

बिगतको चुनाबको अभिलेख हेर्दा भोट नहाल्ने मतदाताको संख्या ठूलो देखिन्छ । २०७४ को स्थानीय तहको निर्वाचनमा गोरखाबाट एकलाख १९ हजार तीनसय ७७ जनाले मतदान गरेका थिए । एकलाख ६९ हजार ४६ जना मतदाता रहेको त्यतिबेला ४९ हजार छसय ६९ जना अनुपस्थित रहेका थिए ।

यसरी हेर्दा पाँच बर्षअघिको निर्वाचनमा कूल मतदातामा ७०.६१ प्रतिशत मत खसेको थियो । २९.३९ मत नखसेको अभिलेख निर्वाचन कार्यालयमा छ । खसेका मतमध्य पनि जम्मा एकलाख १५ हजार छसय छ मत मात्र सदर भएको थियो । तीनहजार सातसय ७१ मत बदर भएको थियो ।

सबैभन्दा धेरै २७ हजार पाँचसय छ जना मतदाता संख्या रहेको गोरखा नगरपालिकामा १९ हजार नौसय नौ अर्थात जम्मा ७२.३८ प्रतिशत मत मात्र खसेको थियो । जिल्लाको केन्द्रविन्दूमा रहेको पालिकामा पनि सातहजार पाँचसय ९७ मतदाता मतदानमा सहभागी भएनन् । खसेको मतमध्य पनि ४५३ (२.२८ प्रतिशत) मत बदर भएको थियो ।

त्यस्तै दोस्रो धेरै २५ हजार सातसय ३० जना मतदाता रहेको पालुंटार नगरपालिकामा पनि जम्मा १७ हजार सातसय नौ (६८.८३ प्रतिशत) मत मात्र खसेको थियो । पालुंटारमा आठहजार २१ जना मतदान प्रक्रियामा सरिक भएनन् । मतदान गरेका मध्य पनि ४२७ मत बदर भएको थियो ।

त्यस्तै नौहजार नौसय ३८ जना मतदाता रहेको अजीरकोट गाउँपालिकामा २०७४ सालको निर्वाचनमा जम्मा छहजार सातसय ३७ मत खसेको थियो । सो पालिकाका तीनहजार दुईसय १ जना मतदाताले मतदान गरेनन् । त्यहाँका ६७ प्रतिशतले मतदान गरे, ३३ प्रतिशत मतदाता मतदानमा सहभागी भएनन् । त्यहाँ २०२ मत अर्थात तीनप्रतिशत मत बदर भएको थियो ।

त्यस्तै १४ हजार ४२२ मतदाता रहेको आरुघाट गाउँपालिकामा १० हजार १७७ मत अर्थात ७०.५७ प्रतिशत मत मात्र खस्यो । चारहजार दुईसय ४५ मतदाता त्यहाँको चुनावी प्रक्रियामा उपस्थित भएनन् । मतदान गरेका मध्य पनि चारसय ११ जना अर्थात चार प्रतिशत मत बदर भएको थियो ।

१४ हजार ५७ मतदाता रहेको गण्डकी गाउँपालिकामा पाँचबर्षअघि जम्मा १० हजार पाँचसय ४९ जना अर्थात ७५ प्रतिशत मतदाताले मात्र मतदान गरे । तीनहजार पाँचसय आठ जना अर्थात २५ प्रतिशतले भोट गरेनन् । भोट गरेकाहरुमध्य पनि २७५ जनाको मत बदर भएको थियो ।

सबैभन्दा कम तीनहजार आठसय ६९ मतदाता रहेको सबैभन्दा दुर्गम चुमनुब्री गाउँपालिकामा दुईहजार आठसय ९७ मत (७४.८८ प्रतिशत मत) खसेको थियो । खसेको मतमध्य दुईहजार सातसय २८ अर्थात सदर र एकसय ६९ मत अर्थात ५.८३ प्रतिशत भोट बदर भएको थियो । अर्को दुर्गम धार्चे गाउँपालिकामा रहेका सातहजार आठसय ७५ मतदातामध्य त्यतिबेला पाँचहजार नौसय ६८ जनाले मात्र मतदान गरेका थिए । एकहजार नौसय सात जनाले भोट हालेका थिएनन् । खसेको मतमध्य पनि पाँचहजार छसय ६६ मत मात्र सदर भयो । तीनसय दुई अर्थात ५प्रतिशत मत बदर भएको थियो ।

१५ हजार १३ जना मतदाता रहेको भीमसेन थापा गाउँपालिकामा १० हजार छसय ७२ जनाले अर्थात ७१ प्रतिशतले मात्र मतदान गरे । चारहजार तीनसय ४१ जनाले मतदान गरेनन् । मतदान गरेका मध्य पनि दुईसय ७३ जनाको मत बदर भएको थियो ।
१८ हजार पाँचसय सातजना मतदाता रहेका शहीदलखन गाउँपालिकामा जम्मा १३ हजार अर्थात ७० प्रतिशतले मात्र भोट हालेका थिए । जसमा १२ हजार पाँचसय ५४ मत सदर र चारसय ४६ अर्थात ३.४३ प्रतिशत मत बदर भएको थियो ।

सिरानचोक गाउँपालिकाको १६ हजार १७३ जना मतदातामध्य १० हजार सातसय १४ जना अर्थात जम्मा ६६.२५ प्रतिशत मतदाताले मात्र मतदान गरे । पाँचहजार चारसय ५९ जनाले मतदान गरेनन् । मतदान गरेको मध्य पनि १० हजार तीनसय २२ मत मात्र सदर भयो । ३.६६ प्रतिशत मत बदर भएको थियो । त्यस्तै १५ हजार नौसय ५६ मतदाता रहेको बारपाकसुलीकोट गाउँपालिकाका ११ हजार ४५ जना(अर्थात ६९.२२ प्रतिशत)ले मात्र मतदान गरे ।

खसेको मतमध्य पनि १० हजार छसय २४ मत मात्र सदर र चारसय २१ मत बदर भएको थियो ।
मतदाता शिक्षा सबैभन्दा कमजोर रहेको चुमनुब्रीमा ५.८३ प्रतिशत र धार्चेमा ५.०६ प्रतिशत मत बदर भएको थियो । त्यस्तै सिरानचोक गाउँपालिकाका ठूलो संख्यामा (३३.७५ प्रतिशत) मतदाता चुनाबमा सहभागी भएनन् । त्यस्तै मतदाता संख्याको अनुपातमा कम मत खस्ने गाउँपालिका अजीरकोट पनि हो । यहाँ ६७.६९ प्रतिशत मत खसेन ।

प्रतिक्रिया दिनुहोस्