
कार्यालयले भुक्तानी दिन नसक्दा जिल्लाका विकास निर्माणको काम रोकिए
ढुंगागाढे, बुंकोट, नाम्जुङ, घैरुङ, मनकामना सडकको १२ किलोमिटर खण्ड कालोपत्रेको काम निर्माण कम्पनीले गत भदौ महिनामा सम्पन्न ग¥यो । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर लामा कन्स्टूक्शनले बिल, भरपाई पेश गरेको सात महिना बितिसक्यो तर पूर्वाधार कार्यालयले छ करोड रुपैयाँ भुक्तानी दिन सकेको छैन ।
सोही कम्पनीले चोरकाटे, चित्रेपोखरी सडकको ९.६ किलोमिट कालोपत्रे गर्ने काम पनि निर्धारित समयमा सम्पन्न ग¥यो । काम सम्पन्न गरेको छ महिना बितिसक्दासम्म सो कार्यालयले ६९ लाख रुपैयाँ भुक्तानी दिन सकेको छैन ।
काम सम्पन्न गरेको एक महिनाभित्र सबै रकम भुक्तानी पाउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । एक महिनाभित्र भुक्तानी दिन नसकेमा कार्यालयले कम्पनीलाई आठ प्रतिशत व्याजसहित भुक्तानी दिनुपर्ने कानूनी व्यवस्था छ । निर्माण कम्पनीले व्याजसहितको रकम मागदाबी गर्दै निवेदन दिएको पूर्वाधार कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । ‘नियमअनुसार मागदाबी गर्दै निवेदन आयो । मैले मन्त्रालय फरवार्ड गरिदिएको छु’, उनले भने ।
अधिकारी निर्माण सेवाले लकामखोला पुल निर्माणको काम छ महिनाअघि सम्पन्न ग¥यो । तर अहिलेसम्म ९५ लाख रुपैयाँ भुक्तानी लिन नपाएको निर्माण कम्पनीका सञ्चालक डालनाथ अधिकारीको गुनासो छ । बडहरे खोला पुलको ६९ लाख ७० हजार, लुदीखोला पुलको ९५ लाख रुपैयाँ पनि भुक्तानी पाउन बाँकी रहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार ढोडेनी, सिम्जुङ, गोगनपानी, भच्चेकको १४ किलोमिटर सडक स्तरोन्नति गर्न २३ करोड ५१ लाखमा ठेक्का सम्झौता गरेको विरुवा, नाना, गोरखा जेभीलाई सात करोड १९ लाख भुक्तानी दिन बाँकी छ । त्यस्तै बारपाक लाप्राक सडक ग्राभेल गर्न ३४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको शर्मा बिकेओआई जेभीलाई पाँच करोड भुक्तानी दिन बाँकी रहेको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए ।
त्यस्तै २९ करोड ७५ लाख रुपैयाँमा घ्याम्पेशाल, पाँचखुवादेउराली, ताकुकोट सडकको ८.६ किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको विरुवा, वाइबा, नाना जेभीलाई ६० लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । बराह, फिनाम सडकको ४.२ किलोमिटर खण्ड कालोपत्रे गर्न नौ करोड ८६ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको बानियाँ कन्स्टूक्शनलाई पाँच करोड रुपैयाँ आवश्यक रहेको कार्यालयले जनाएको छ । माछाखोला, लप्सीबोट, यमगाउँ, गुम्दा सडक ३२ करोड १०रुपैयाँ लागतमा स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको अमर, पिआर, नाना जेभी कम्पनीलाई एक करोड दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
खानेपानी डिभिजन कार्यालयले पनि काम गरेका निर्माण व्यवसायीलाई भुक्तानी दिन सकेको छैन । पराजुली होम जेभी कम्पनीले छ करोड ८९ लाखमा ठेक्का सम्झौता गरेको चुमनुब्री खानेपानी योजनाको पनि काम सम्पन्न हुने चरणमा छ तर सम्पन्न गरेको कामको भुक्तानी दिन नसकिएको खानेपानी डिभिजन कार्यालयका प्रमुख किरण पौडेलको भनाइ छ । ‘काम त सम्पन्न हुने चरणमा छ तर तीन करोड ३५ लाख मात्र भुक्तानी भएको छ’, उनले भने, ‘बजेट आए काम सक्थ्यौँ भन्छन् तर आफै लाचार हुनु परेको छ ।

’ बिल भरपाई पास गरेर धमाधम भुक्तानी दिन सके आउँदो असारसम्म धेरै योजना सम्पन्न हुने तर भुक्तानी रोकिएर अलपत्र भएका योजना धेरै रहेको उनको भनाइ छ ।
सवा चौतारा, आँपपिपल सडकको दुई किलोमिटर कालोपत्रे र १४ सय मिटर ग्राभेल गर्ने योजनामा निर्माण कम्पनीलाई तीन करोड ११ लाख रुपैयाँ भुक्तानी दिन नसकिएको कार्यालयले जनाएको छ । ८० मिटर लामो दसकिलोको दरौँदीखोला पुल निर्माणको काममा ४० मिटर स्ल्याब राखिसकेको छ । बिल भुक्तानी नपाउँदा बाँकी काम गर्न ठेकेदारले आनाकानी गरिरहेको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए । ‘सकेको कामको भुक्तानी पाए काम गर्छौँ, नत्र रोक्छौँ भन्छन् ।
कतिपय ठेकेदारले साइट खालि गरिसके’, उनी भन्छन्, ‘बजेट रोकिएर चौपट भएको छ । मन्त्रालय, विभागतिर कुरा गर्दा काम गराउनै पर्छ, रकमान्तर गरेर पनि बजेट पठाउँछौँ भन्छन् । बिल, भरपाई आएर चाङ लागेको छ । यस्तो अबस्थामा हामीले निर्माण व्यवसायीलाई सम्झाइबुझाइ गर्ने ठाउँ छैन ।’ तैपनि काम जारी राख्न अनुरोध गरिरहेको उनले बताए । निर्माण सम्पन्न भएर पनि भुक्तानी नभएका योजनाको सूची लामो छ । अधिकांश सडकका, सिँचाइका, खानेपानी र पुल योजनाको भुक्तानी हुन बाँकी छन् ।
कर्मसिङफाँट सिँचाइ योजना, जौबारी सिँचाइ योजना, घ्याल्चोक लिफ्ट सिँचाइ योजना, आरुटार सिँचाइ योजना, चिसापानी मुगेसाँगु सिँचाइ योजना, घुन्चोकटार सिँचाइ योजना, पाङसिङ सिँचाइ योजना पनि महिनौ अघि सम्पन्न भइसकेका छन् । तर भुक्तानी दिन नसकिएको सिँचाइ डिभिजन कार्यालयका प्रमुख प्रकास लम्साल बताउँछन् ।

चार करोडमा ठेक्का सम्झौता भएको सिलिङ ग्याजा खानेपानी आयोजनाका निर्माण कर्ता हिमला कन्स्टूक्शनलाई दुई करोड भुक्तानी दिन बाँकी छ । तीन करोड ३२ लाख लागतको आँपपिपल खानेपानी योजनाका क्रिश्चल सचेत जेभीलाई एक करोड एकलाख रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी छ । त्यस्तै छ करोड ८७ लाखको धार्चे वृहत खानेपानी योजनाका निर्माण कम्पनी महादेव खिम्ति नाना अञ्जना जेभीलाई हालसम्म जम्मा दुईकरोड ६५ लाख मात्र भुक्तानी दिइएको, अरु बाँकी रहेका खानेपानी डिभिजन प्रमुख पौडेलको भनाइ छ । सबै आयोजना सम्पन्न हुने अबस्थामा छन् ।
तर पुराना बिल भुक्तानी दिन नसक्दा समस्या भएको छ । ‘ठूलो बजेट रिलिज गर्नुपर्ने छ तर कहिले हुन्छ अनिश्चित छ । गरेको कामको भुक्तानी नपाएपछि कतै ठेकेदारले काम रोकिसके, कतै अलिअलि गरिरहेका छन्’, उनी भन्छन्, ‘भुक्तानी दिन नसके काम लगाउन हामीलाई पनि असजिलो, उनीहरुले पनि तिर्नुपर्नेलाई पुरानो हिसाब नमिलाए नयाँ काम अघि बढाउन मुस्किल छ ।’ कामदारको ज्याला, इन्धन तथा निर्माण सामग्रीको भुक्तानी दिन नसक्दा बिल्लीपाठ हुने अबस्थामा पुगेको निर्माणकर्ताहरुको गुनासो छ ।
‘क्रसर उद्योगलाई करोडौँ तिर्नुछ, डिजेल, पेटूोलको तिर्नुछ । सब कन्टूयाक्टरलाई तिर्नुछ । रड, सिमेण्टको तिर्नुछ । जताततै तिर्नुछ, तर आफूले पाउनु पर्ने ठाउँबाट पाएका छैनौँ’, अधिकारी निर्माण सेवाका सञ्चालक डालनाथ अधिकारी भन्छन्, ‘कैयौँ पटक प्रदेश मन्त्रालय, संघको मन्त्रालय धाइयो । जिल्लाको कार्यालय त कतिकति धाइयो तर जति धाउँदा पनि भुक्तानी पाइएन ।’

कार्यालयबाट भुक्तानी नपाए पनि काम सुचारु गर्न वैँकबाट ऋणसमेत नपाएको अर्का होम निर्माण सेवाका होमबहादुर बानियाँ बताउँछन् । ‘समस्या हामीलाई मात्र होइन, हामीले कारोबार गरेको पसलमा पुरानो हिसाबको भुक्तानी दिन नसक्दा व्यापारीले सामान किन्न पनि सकेको छैन । हामीलाई सामान कसरी दिउन्’, उनी भन्छन्, ‘वैँकबाट लोन लिएर कारोबार मिलाउन खोज्दा वैँकले ऋण दिन पनि सकेको छैन ।’
जति बजेट निकासा दिन सकिन्छ, त्यति मात्र टेण्डर गरेको भए यस्तो समस्या सिर्जना नहुने निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष सूर्य भण्डारीको भनाइ छ ।
‘मन्त्री, सांसदहरुले सरकारी ढुकुटीको अध्ययनै नगरी जनता खुशी बनाउन बजेट र कार्यक्रम बनाउँछन् । अनि कार्यालयहरुले स्रोत सुनिश्चित नभै टेण्डर आव्हान गर्छन्’, उनले भने, ‘अनि ४० करोडको ठेक्कामा चार करोड मात्र निकासा आउँछ । त्यसैले यस्तो समस्या पैदा भएको हो ।’ देशभर यस्तो समस्या भएकाले आफूहरुले देशव्यापी आन्दोलन गरेको उनले बताए ।




