| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकामा १३ जना अध्यक्ष उम्मेदवारका आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न गाउँ तथा नगरपालिकामा भावी उम्मेद्वारको चर्चा चल्न थालेको छ । गठबन्धनको रुपरेखा नआएका कारण सबै पार्टीले आ–आफ्नो तबरले विशेषगरी मेयरको उम्मेद्वारका लागि गृहकार्य गरिरहेका छन् ।
उपमेयर, वडाअध्यक्ष तथा सदस्यहरुका लागि पनि सबै पार्टीमा छलफल भइरहेका छन् ।

जिल्लाको सुदूर उत्तरी चुमनुब्री गाउँपालिकामा पनि सम्भावित उम्मेद्वारको नाम चर्चामा रहेको छ । साथै दलका नेताहरु चुनावी माहोल बनाउन घरदैलो अभियानमा छन् । पार्टीको तर्पmबाट अधिकारिक उम्मेद्वारको टिकट लिन कतिपय स्थानीय नेताहरु जिल्ला, केन्द्र धाइरहेका छन् । गोरखाको उत्तरी दुर्गम क्षेत्र चुमनुब्री गाउँपालिकामा पनि विभिन्न राजनीतिक दलहरु पालिकाका अध्यक्ष, उपाध्यक्षमा आकाश राखेको देखिन्छ ।

चुमनुब्रीमा नेपाली काग्रेस, माओवादी, एमाले र जनता समाजवादी पार्टी गरी मुख्य चार वटा राजनीतिक दल हाल चुनावी अभियानमा सक्रिय छन् । ७ वटा वडा रहेको चुमनुब्री गाउँपालिकामा २०७४ सालको निर्वाचनमा अध्यक्षसहित ४ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । त्यसैले कांगे्रस यहाँको प्रमुख प्रतिस्पर्धी दल हो । बैशाख ३० गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्पmबाट सम्भावित उम्मेद्वारहरुमा वर्तमान अध्यक्ष धनबहादुर गुरुङ, दीपेन्द्र गुरुङ, सुर्यबहादुर गुरुङ र छेवाङ ग्याल्चेन लामाको नाम चर्चामा रहेको छ । धनबहादुर गुरुङ विगतमा सिर्दिवास गाविसको अध्यक्षसमेत थिए । २०७४ साल अगाडि दुई दशक राप्रपामा आबद्ध रहेका उनी सफल निर्माण व्यवसायी समेत हुन् ।

दीपेन्द्र गुरुङ नेकपा माओवादीसँग असन्तुष्ट भई नेपाली कांग्रेसमा प्रवेश गरेका सफल पर्यटन(होटेल) व्यवसायी हुन् भने सुर्यबहादुर गुरुङ चुमनुब्री गाउँपालिकाका नेपाली कांग्रेसका पार्टी सभापति हुन् । उनी पनि विगतमा नेकपा माओवादीमा आबद्ध थिए । उनीहरु मध्ये सबैभन्दा पुरानो पाका नेताका हिसाबले छेवाङ ग्याल्चेन लामा र अघिल्लो चुनाव जितेको कारण धनबहादुर गुरुङ मध्ये एकको सम्भावना प्रबल रहेको जनाइएको छ ।

त्यस्तै कागे्रसपछिको यहाँ दोस्रो मुख्यः प्रतिस्पर्धी दल नेकपा माओवादी केन्द्र हो । २०७४ सालको निर्वाचनमा उपाध्यक्षसहित ३ वटा वडा माआवोदीले जितेको थियो । आगामी निर्वाचनका लागि यस दलबाट आकांक्षीहरु धेरै जना रहेकोले सबैको व्यवस्थापन गर्न धौ–धौ हुने नेकपा माओवादी चुमनुब्री पार्टी कमिटी स्रोतले जनाएको छ ।

तीनवटा वडा सहमतिअनुसार नेकालाई निर्विरोध छोडेको र नेकाका सम्बन्धित वडाका नेता कार्यकर्ताले सहमति कार्यान्वयन नगरी धोका दिएका कारण बिगतमा अध्यक्षमा हारेको विश्लेषण माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरुको रहेको छ ।
यसपटक सबै वडासहित अध्यक्ष र उपाध्यक्ष जित्नेमा माओवादी ढुक्क देखिएका छन् । तर टिकट नपाउने आकांक्षीहरुको व्यवस्थापन गर्न नसकेमा जीत हात पार्न सक्ने सम्भावना पनि उत्तिकै क्षीण देखिन्छ ।

यसपटक माओवादीकेन्द्रबाट पुराना अनुभवी नेता प्रदेश कमिटि सदस्य निमा लामा, वर्तमान गा.पा. उपाध्यक्ष कुमारी गुरुङ, लामो समय शिक्षण र सामाजिक संघ संस्थामा काम गरेका युवा समाजसेवी तथा कलाकार वीरबल घले, वर्तमान वडाध्यक्ष रामकुमार गुरुङ, चुमनुब्री गा.पा. पार्टी सचिव बलबहादुर गुरुङ, कार्यपालिका सदस्य विशाल(काजी) घले लगायतले पालिकाको अध्यक्षमा आकांक्षा व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ । तर पार्टीमा पु¥याएको योगदानको हिसाबले बढी सम्भावना निमा लामा, कुमारी गुरुङ र वीरबल घले मध्ये एकलाई छान्ने सम्भावना उच्च छ ।

स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अगाडि सार्ने उम्मेदवारको आधारमा उनीहरु तीनजनामध्ये एकजना उम्मेदवार छान्नेछ । एक कार्यकाल गाउँपालिका उपाध्यक्ष चलाएको अनुभव र महिला भएको नाताले कुमारी गुरुङ बलियो दाबेदार हुन् भने अघिल्लो निर्वाचनमा नै आफुले पाउनु पर्ने टिकट लाक्पा दुण्डुप लामालाई दिलाएको र ज्येष्ठ राजनीतिकर्मी भएकोले यसपटक जसरी पनि आफ्नो दाबी रहने निमा लामाको दावी छ ।

त्यसैगरी राजनीतिक शास्त्रमा बि.ए. र नेपाली साहित्यमा एम.ए. उत्तिर्ण गरी लामो समय स्थानीय बुद्ध माविको प्रधानाध्यापक भएको र सामाजिक संघसंस्थाको कार्यकारी प्रमुखको रुपमा प्रशासनिक र योजना तर्जुृमा तथा व्यवस्थापन क्षेत्रमा अनुभव हाँसिल गरेको र कलाकारीता (चलचित्र कलाकार) पृष्ठभूमि भएको कारण विपक्षी पार्टीका मतदाताको समेत रोजाईमा पर्न सक्ने हुनाले वीरबल घलेको पनि सम्भावना प्रबल देखिन्छ ।

चुमनुब्रीमा नेपाली कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी दल हुन भने राष्टिूय राजनीतिमा प्रमुख प्रतिपक्ष दलका रुपमा रहेको नेकपा एमालेको प्रभाव तुलनात्मक रुपमा कमजोर रहेको देखिन्छ । तर पूर्व प्रदेशमन्त्री रामशरण बस्नेतले यसक्षेत्रमा विकास निर्माणका लागि धेरैसहयोग गरेकाले अघिल्लो निर्वाचनको तुलनामा आगामी निर्वाचनमा भोट बढी आउने आँकल गरिएको छ । यस दलबाट चन्द्र गुरुङ र सूर्यकुमारी गुरुङ मध्ये एक जना पालिका अध्यक्षको उम्मेदवार हुने सम्भावना रहेको स्रोतले जनाएको छ । सुर्य कुमारी गुरुङ अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिइन् ।

त्यस्तै, चुमनुब्री गाउँपालिकामा जनता समाजवादी पाटीको संगठन प्रभाव अन्य पार्टीको तुलनामा कम रहेता पनि पार्टीको गतिविधिहरु भने निरन्तर भइरहेको छ । निर्वाचनमा जित्ने सम्भावना नभए पनि कुनै एक दलसँग तालमेल गरेर मत परिणाम प्रभावित भने गर्न सक्छ । यस दलको तर्फबाट अध्यक्षमा हालसम्म गणेश कार्कीको मात्र उम्मेदवारी रहने चर्चा छ ।

धार्चे र चुमनुब्री गाउँपालिकालाई समेटेर अलग्गै जिल्ला बनाउने अभियानको नेतृत्व गरेका कारण कार्की लोकप्रिय छन् । बुबा, बाजे पनि तत्कालीन गाउँपञ्चायत तथा गाविसको अध्यक्षमा रहेर काम गरेको बिरासत पनि उनमा छ । लामो समय शिक्षण पेशामा लागेका, चुमनुब्री गाउँपालिका भरका होटलहरुको साझा संस्थाका अध्यक्ष समेत भएर काम गरेका र पार्टी गतिविधिमा सबै वडा चाहारेका उनी पनि बलिया उम्मेद्वार हुन् ।

प्रतिक्रिया दिनुहोस्