| सोमवार, कार्तिक २३, २०८३

दरौँदीको पानी शुद्ध र स्वच्छ होओस्

गोरखा बजारमा पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले पानी वितरण गरिरहेको छ । त्यस्तै तीनधारा खानेपानी, कर्णेखोला खानेपानी, पँदेली खानेपानी, छहरेधारा खानेपानी उपभोक्ता समितिले पनि गोरखा बजारका विभिन्न टोलहरुमा पानी वितरण गरिरहेको छ ।
स्थानीय स्रोतको पानी वितरण गर्दा अपर्याप्त भएपछि बजार क्षेत्रमा पानी वितरण गर्न दरौँदी लिफ्टिङ आयोजना सुरु गरिएको थियो । यसले निकै लामो समय लियो ।

अब छिट्टै पानी झर्छ भनेको पनि लामो समय भइसकेपछि केहीदिन यता बल्लतल्ल पानी झरेको छ ।
खानका लागि उपयुक्त नभए पनि अन्य प्रयोजनका लागि भने अब पानी पर्याप्त हुनेछ भन्ने आशा छ ।
दरौँदीको पानी पिउनका लागि शुद्ध त नहोला, तर धुने तथा अन्य काममा प्रयोग गर्न पर्याप्त हुनेछ ।

अहिलेसम्म घरमा धारा भएर पनि हप्तामा दुईदिन वा हप्तामा एकदिन पानी आउने रुटिङ थियो । जसले गर्दा मनग्य रुपमा पानीको प्रयोग गर्न नपाइएको अबस्था थियो ।

तर अहिले झरेको दरौँदी लिफ्टिङ आयोजनाको पानीको ग्राहक धेरै भएकाले छेलोखेलो होला वा नहोला, समयक्रमले देखाउने छ । लामो दुरीको र लिफ्टिङ प्रविधिको आयोजना भएकाले बिग्रिरहने, भत्किरहने झञ्झट पनि कम्ति छैन । विद्युत आपूर्ति अवरुद्ध हुँदा पानी तान्न नसक्ने अबस्था आउने सम्भावना छ ।

बर्खाको तीन, चार महिना भेल, बाढीको प्रदुषित पानी अहिलेको प्रविधिले फिल्टर गर्न नसक्दा फोहर पानी उपभोक्ताको घरघरमा पुग्ने सम्भावना ज्यादा छ । टिूटमेण्ट प्लाण्ट बनाए पनि पानी सफा र शुद्ध नभएको त यसअघिका उदाहरण छन् । त्यसैले अझै मजबुद प्रविधि अपनाएर पानी प्रशोधन गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्