
मूल्यवृद्धि समायोजनको माग गर्दै निर्माण ब्यवशायी आन्दोलित
गोरखासहित देशभरका निर्माण ब्यवशायी आन्दोलित भएका छन् । पछिल्लो समय निर्माण सामग्री, इन्धन लगायत सबैथोकमा अत्याधिक मूल्य बढेकाले त्यसलाई समायोजन गर्नुपर्ने माग राख्दै निर्माण ब्यवशायी संघ गोरखाको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
‘सार्वजनिक खरिद ऐन अनुसार अप्रत्यासित मूल्यवृद्धि भएमा त्यसको समायोजन गर्ने भनिएको छ’, संघका अध्यक्ष सूर्य भण्डारीले ज्ञापन पत्र बुझाउँदै भने, ‘भाउ बढेर कहाँ पुगिसक्यो, तर समायोजन भएन ।’ मूल्यवृद्धि अत्याधिक हुँदा निर्माण ब्यवशायीले काम गर्ने अवस्था नरहेको उनले बताए ।
‘यो अवस्था हो भने सबै काम रोकिन्छ, गर्न सकिँदैन’ अध्यक्ष भण्डारीले भने । बिमा प्रिमियम दरमा पनि अत्याधिक मूल्यवृद्धि भएको, सार्वजनीक खरिद नियमावली २०६४ को एघारौँ संशोधन परिर्वतन गर्नुपर्ने माग ब्यवशायीको छ ।
संघले कुन बुँदामा के संशोधन गर्ने र के थप्ने भन्ने सुझावसहित पाँच पृष्ठ लामो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाए ।




