| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस, एमाले, माओवादीलाई चुनाव जिताएर फेरि गल्ती नगरौँ : लिङ्देन


बिहिबार गोरखामा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाब जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन् ।


सदरमुकामको खेलकुद मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ठूलो भनिएको पार्टीले ३१ बर्षसम्म शासन सत्ताको वागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे । ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहु्रन्छ कि अव शेरबहादुर देउवालाई कति चोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ ?’, लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कति चोटी र कति वर्ष अव प्रधानमन्त्री बनाइदियो भने देश बनाउलान् ? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुदैन ।’


ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दूध दिन्छ भन्नु उस्तै भएको नेता लिङ्देनले बताए । ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दूध झर्छ भन्नु उस्तै हो’, उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुदैन ।’


ठुला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए । ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अव हामीलाई छैन’, उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी प¥यो हात अर्को तिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आपूm त बर्बाद भयौँ, हाम्रो भावी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौँ ।’


एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुख पाउने भन्दै उनले आसन्न चुनाब पुराना गल्ती सच्याउने मौका भएको बताए । ‘एक वर्षभित्र देशमा तीन वटा निर्वाचन हुदैछ, यो तपाईँको लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो’, उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्, तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन् ।’

साथै उनले बिसे नगर्ची, कालु पाण्डे लगायतका नेपाल एकीकरणका अभियान्ताहरुको समेत प्रशंसा गरेका थिए । वृहत आमसभा कार्यक्रममा राप्रपा गोरखाका पुर्व अध्यक्ष मोहनलाल श्रेष्ठले राजनीतिक दलहरुले आफ्नो स्वाथ्य पूरा गर्नेमा मात्र केन्द्रित भएको तर आफ्नो देश र जनताप्रतिको दायित्व विर्सदै गएको बताए ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देश विकास र समृद्धिमा आफ्नो पार्टीको महत्वपुर्ण भूमिका खेल्ने बताउदै आगामी स्थानीय तहमा राप्रपालाई साथ र सहयोग गर्न आग्रह गरे ।

राप्रपाले गोरखाका सबै स्थानीय तहमा जनप्रतिनिधिमा उम्मेद्वारी दिनेसमेत बताएका थिए । कार्यक्रममा पार्टी केन्द्रीय समितिका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रामराज कोइराला, ज्ञानेन्द्र शाही, रेखा थापा, गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्