| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीले पनि वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

तिब्बतसँग सीमाना जोडिएको चुमनुब्री गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वैंकबाट वितरण गर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य वैंकबाट वितरण गर्नुपर्ने प्रावधान बनाएर पालिकाहरुलाई निर्देशन गरेसँगै चुमनुब्रीले भत्ता वितरणको अन्तिम तयार गरेको हो ।

‘केहीदिनमा वैंकमा भत्ता पठाउँछौँ’, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ‘दुर्गम ठाउँ भएकाले हाम्रोमा वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण सहज थिएन ।’ एउटा वडाबाट अर्कोमा पुग्न एकदिन पैदल हिँड्नुपर्ने चुमनुब्री गाउँपालिकाको केन्द्र आउन तीनदिनसम्म समय लाग्छ । आउँदा जाँदा झण्डै एक साता हिँडेर वैंकमा भत्ता लिन आउन सम्भव नहुने भएपछि गाउँपालिकाले कुमारी वैंकसंग सम्झौता गरेको हो । गाउँपालिकाको केन्द्रमा रहेको एकमात्र कुमारी वैंकले वडामा पुगेर निश्चित दिन तोकेर भत्ता वितरण गर्नेछ ।

वैंकको शाखा रहेको सिर्दिबास बाहेकमा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता निकासा भएपछि वैंकले वडामै लगेर रकम वितरण गर्नेछ । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ र कुमारी वैंक सिर्दिबासका प्रमुख कृष्ण पोखरेलले वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । दोस्रो किस्ता पाउने ७० वर्ष माथिका जेष्ठ नागरिक पाँच सय ९१ जना, जेष्ठ नागरिक दलित दुई जना, जेष्ठ नागरिक एकल महिला एक सय ९३ जना छन् ।

बिधवा आर्थिक सहायता पाउने एक सय ८४ जना, पूर्ण अपाङ्ग‘क’ बर्गको कार्ड भएका पाँच, आंसिक अपाङ्ग‘ख’ बर्गको कार्ड भएका १३ जना, दलित बालवालिका दुई जना गरी नौ सय ९० जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन् । यी सबैलाई एक चौमासिकमा एक करोड १ एक लाख १३ हजार नौ सय २९ रुपैयाँ भुक्तान गर्नुपर्ने पञ्जिकरण शाखाका वेदप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्