| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाभित्र पुस्ता हस्तान्तरण कार्यक्रम

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा अन्तक्र्रिया एवं पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको हो ।

गोरखा नगरपालिका भित्रका तीनवटा ठाउँमा उक्त कार्यक्रम गरेर नगरका सबै वडाबाट युवाहरुलाई सहभागी गराइएको जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘हामीले जानेका ज्ञान सिप, बिभिन्न घरायसी कुराहरुका बारेमा अहिलेको पुस्तालाई बताउने गरी कार्यक्रम गरिएको हो’ उनले भने । चैत २ गते गोरखा नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका युवाहरुलाई भेला गरेर जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गरिएको थियो ।

समन्वय प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै चैत ७ गते गोरखा नगरपालिका वडा नम्बर १२ मा १०, ११, १२, १३ र १४ नम्बर वडाका युवाहरुलाई भेला गरिएको थियो । चैत ८ गते मंगलवार गोरखा नगरपालिका २ कोखे आहालेमा वडा नम्बर १, २, ३, ४ का युवालाई भेला गरिएको थियो ।

यी दुबै ठाउँको कार्यक्रमको उद्घाटन गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले गरेकी थिईन् । जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, बार एशोसियशन गोरखाका अध्यक्ष यादव शर्मा, गोरखा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख विजयभक्त उपाध्याय, गोपाल मरहट्टा लगायतले पुस्ता हस्तान्तरणका बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा २० देखि ४० वर्ष उमेर समूहका युवाहरु सहभागी थिए । कार्यक्रम जेष्ठ नगारिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

गोनपा ६ का वडाअध्यक्ष नारायण अर्याल, १२ का अध्यक्ष डिलबहादुर थापा, २ का वडा अध्यक्ष रहमतुल्ला मियाँ लगातले कार्यक्रममा मन्तब्य राखेका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाको समन्वयमा गोरखा नगरपालिकाले उक्त कार्यक्रमका लागि बजेट बिनियोजन गरेको संघका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘यो कार्यक्रम सबै ठाउँमा हुनुपर्छ, युवाहरु र जेष्ठ नागरिक बीच पुस्ता हस्तान्तरणले युवाहरुलाई धेरै कुरा सिकाउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्