
कमाउन गएका मगरको बिदेशमै मृत्यु
शिव उप्रेती
गोरखा ः वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्सको आबुधावी गएका एक युवाको विदेशमा नै मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ६ अश्राङ रीपका ३१ बर्षीय टोपबहादुर आले मगरको गत मङ्गलबार मृत्यू भएको हो ।
काम सकेर राती सुतेका आले बिहान मृत भेटिएका त्यहीँ काम गर्ने विनोद श्रेष्ठले जानकारी दिए । ‘गत मङ्गलबार काम सकेर खाना खाएर सुतेका बिहान टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको रहेछ’ श्रेष्ठले भने, ‘मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन ।’ उनको शव पोस्टमाटमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको श्रेष्ठले बताए ।
आलेको शवलाई नेपाल पठाउनको लागि आइतबारदेखि प्रक्रिया अघि बढाइने युएईको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयाललाई उद्धृत गर्दै श्रेष्ठले जानकारी दिए ।
आले बिगत ६ बर्ष अघिदेखि आबुधावीमा काम गर्दै आएका थिए । आबुधावीस्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्ने उनले बताए ।




