
मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल
नेपाल मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल मियाँ चयन भएका छन् । शनिबार सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनबाट मियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको संघको अधिवेशनले उपाध्यक्षमा जमिल मियाँ (नफ्जल), मोहमदिन मियाँ, सचिवमा सम्सुदिन मियाँ, महिला सचिवमा सजिरा बानु, सहसचिवमा महिबुब मियाँ र बाबुदिन मियाँलाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै संघको कोषाध्यक्षमा मोहम्मद याकुव मियाँ चयन भएभने सदस्यहरुमा सविना मियाँ, राजुदिन मियाँ, महरमली मियाँ, निजामदिन मियाँ चयन भएको बताइएको छ । त्यस्तै सदस्यमै सम्मत अलि, महोमदिन मियाँ, दाउद स्लाम मियाँ, अब्दुल मियाँ, अस्गर अलि मियाँ, सुब्हान बक्स मियाँ र वलिम दिन मियाँ सर्वसम्मत भएका छन् ।
संघका जिल्ल अध्यक्ष अलिउल्ला मियाँको अध्यक्षमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति न्यौपानेले मुस्लिमलाई नेपाली काँग्रेस बाहेक अन्य दलको संरक्षण नरहेको दावी गरेका छन् । मुस्लिम लगायतका समुदायको हितमा जहिल्यै काँग्रेस उभिने गरेको बताउदै उनले कम्युनिष्ट सरकार आएपछि धार्मिक पर्वहरुको विदा कटौती गर्नुले पनि त्यसको पुष्टि गरेको बताए ।
कार्यक्रममा काँग्रेसका महासमिती सदस्य राजनराज पन्तले मुस्लिम समुदायका ब्यक्ति कम्युनिष्ट हुनै नसक्ने तर्क गरे । गोरखा नगरपालिकाका मेयर समेत रहेका पन्तले मुस्लिम समुदायको संरक्षण, विकास र धार्मिक संरचनामा नगरपालिकाले हरेक बर्ष लाखौ खर्च गर्ने गरेको जानकारी दिए ।




