| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्री गाउँपालिकाको घरघरमा पुगेर गर्भ परीक्षण अभियान


चुमनुब्री गाउँपालिकाको बिकट गाउँबस्तीका घरघरमा पुगेर गर्भवती महिलाको फलोअप चेकजाँच हुने भएको छ । किमोलुङ फाउण्डेशन नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाको दक्ष जनशक्तिले गाउँगाउँमा पुगेर गर्भ परीक्षण गरिने फाउण्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले जानकारी दिए ।


सो अभियानका लागि सिर्दिबास स्वास्थ्य चौकीकी तालिमप्राप्त नर्स सोनी गुरुङ चुम र नुब्रीका गाउँबस्ती जाने प्रतिवद्धता जनाएकी छन् । सो अभियानका लागि संस्थाले सो स्वास्थ्य संस्थालाई प्रोटेबल(बोकेर हिड्न मिल्ने) खालको अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ ।


संस्थाका अध्यक्ष लामा र दातृ संस्था अमेरिकी संस्था ह्युमेनिटेरियन इफोर्ट रिचिङ आउट, इल्भेट नेपालका प्रमुख डन मौररले गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङलाई सो मेसिन हस्तान्तरण गरेका हुन् । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङको रोहबरमा हस्तान्तरण गरिएको हो ।


भिडियो एक्सरे गर्ने उपकरण पाएपछि अब दुर्गम भेगका गर्भवती महिलाहरुले सो सेवाका लागि आरुघाट, गोरखा वा काठमाडौँ जानुपर्ने वाध्यता हटेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।


संस्थाले सिर्दिबास स्वास्थ्यचौकीका लागि यथासीघ्र एक्सरे र रगत परीक्षण गर्ने मेसिन(कुलर मेसिन) पनि प्रदान गर्ने भएको छ । अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लामाले दुर्गमका बासिन्दाको स्वास्थ्य सेवाका लागि आफूले जतिसक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्