| सोमवार, कार्तिक २३, २०८३

महिलालाई मखमली जुत्ता, चप्पल बनाउने तालिम सुरु

गोरखा नगरपालिका वडा १४ स्थित उपल्लो याङ्कोटमा महिलाका लागि मखमली जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र विकास सचेतना तथा रोकथाम केन्द्र तनहुँको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत याङ्कोटका महिलालाई मखमली जुत्ता, चप्पल बनाउने तालिम सञ्चालन गरिएको उपमेयर विना श्रेष्ठले बताइन् । बुधबारदेखि तालिम सुरु भएको तालिम चैत्र १७ गतेसम्म संचालन हुने बताएको छ । तालिममा वडा नं १३ र १४ का २५ जना महिला सहभागिता रहेको उनले बताइन् ।

महिलाहरुको क्षमता वृद्धि गर्नुका साथै आयआर्जनमा वृद्धि गरी आत्मनिर्भरता बनाउन तालिम संचालन गरिएको श्रेष्ठले जानकारी दिइन् । सदरमुकाममा आउन नसक्ने स्थानीयहरुलाई लक्षित गरेर वडामै तालिम संचालन गरिएको उनको भनाइ छ । साथै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने र सो स्थानमा उत्पादित बस्तुहरु बजारका लागि नगरपालिकाले सहजीकरण गरिदिने समेत उनले प्रतिबद्धता जनाएकी थिईन् ।

वडा अध्यक्ष राम बहादुर खड्काले तालिममा सहभागी सबै जना व्यवसायिक रुपमा लाग्नुपर्ने बताए । त्यस्तै, विकास सचेतना तथा रोकथाम केन्द्र तनहुँको अध्यक्ष चिजा श्रेष्ठले उत्पादित वस्तुको बजार व्यवस्थापन जिम्मा संस्थाले लिने बताए ।

वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा उपमेयर विना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका कार्यापालिका सदस्य सवित्रा थापामगर, मित्र परियार, विना कैनी र विकास सचेतना तथा रोकथाम केन्द्र तनहुँको अध्यक्ष चिजा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्