उत्तरी गोरखा जाने बाटोमा पहिरै पहिरो
शिव उप्रेती

मंगलबार रातीको भीषण बर्षाले उत्तरी गोरखा जाने बाटो बिभिन्न ठाउँमा अबरुद्ध भएको छ । सोतीदेखि जगतसम्मको पदमार्ग बिभिन्न ठाउँमा अबरुद्ध भएको छ भने जिल्लाभरका ग्रामीण सडक पनि अबरुद्ध भएको स्थानीयले बताएका छन् ।
विशेषगरी नेपाली सेनाले निर्माण गर्दै गरेको सडक पहिरोले अबरुद्ध भएको स्थानीय सूर्य घलेले जानकारी दिए । ‘माछाखोला आसपासमा मात्रै दसबाह्र ठाउँमा पहिरो खसेको छ’, घलेले भने, ‘माछाखोला र खानीबेशीको बीचमा दुईठाउँमा ठूलोठूलो पहिरो खसेको छ । माछाखोलादेखि माथि तातोपानीसम्म पनि तीन ठाउँमा ठूलो पहिरो खसेको छ ।’ खोर्लाबेशीको सिडीबाटो पनि गण्डकीमा खसेको उनले बताए । ‘तातोपानीदेखि खानीवेशीसम्म धेरै नै गाह्रो भएको छ’, उनले भने, ‘धेरै ठूलो ढुङ्गा खसेको छ । रुख सहितै पहिरो खसेर बाटो छेकिएको छ ।’नवनिर्मित सडकमा धेरै ठूलोठूलो ढुङ्गा खसेर आवतजावत अबरुद्ध भएको घलेले बताए । कतिपय ठाउँमा बाटो नै पहिरिएर बुढीगण्डकीमा खसेको छ ।
सो सडक अबरुद्ध हुँदा साबिकका गुम्दा, उहिया, केरौंजा, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसका बासिन्दाहरु सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा जानबाट बञ्चित हुने गर्छन् । खच्चडबाट खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा पनि समस्या हुने स्थानीय हर्क गुरुङले बताए ।




