| सोमवार, कार्तिक २३, २०८३

वैँकबाट भत्ता वितरणका सबल पक्षहरु

सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुमध्य वृद्धभत्ता सबैभन्दा उत्कृष्ठ बन्यो । त्यतिबेला मासिक एकसय रुपैयाँ वितरण गरिन्थ्यो । यसको लोकप्रियता मनन गरी पछिका सरकारहरुले भत्ताको दर र दायरा पनि बढाउन थाले । अहिले मासिक चार हजार रुपैयाँका दरले वितरण हुन्छ ।

जव सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरियो, त्यतिबेला जनप्रतिनिधि स्वयं घरघरमा पुगेर वृद्धवृद्धा, अपांगता भएकाहरुको हातमा नगद राखिदिन्थे । यसो गर्दा लाभग्राहीहरु आत्मादेखि नै प्रफुल्ल हुन्थे । जसले सँधै घरैमा आएर हातमा पैसा राखिदिन्छ, उसैलाई भोट दिने सम्भावना ज्यादा हुन्थ्यो ।

केही समयपछि कर्मचारीहरु घरघरमा पुगेर भत्ता वितरण गर्न थाले । जुनसुकै कुराको पनि सबल र दुर्बल पक्ष हुन्छ । पछि भत्ता वितरण बिकृत बन्दै गयो । मरेका मान्छेको नाममा पनि नक्कली सहीछाप तथा ल्याप्चे ठोकेर भत्ता निकासा हुन थाल्यो । जिल्ला, जिल्लाका यस्ता घटना बाहिरिन थाले ।

अहिले भत्ता वितरणको प्रकृति फेरिँदै आएको छ । अहिले सरकारले लाभग्राहीको नाममा वैँकमा खाता खोलेर वैँकबाट भुक्तानी दिन थालेको छ । यसको पनि केही दुर्वल पक्ष छन् नै तर सबल पक्ष धेरै छन् । वैँकबाट भुक्तानी हुँदा कुनै जनप्रतिनिधिको मुख हेरेर भत्ता लिने दिने हुन छाड्यो, जसले गर्दा लाभग्राहीले जनप्रतिनिधिसित अनुग्राही हुनु परेन । आफ्नो अधिकारतः भत्ता पाएको भन्ने अनुभूति हुन थालेको छ । दोस्रो फाइदाचाहिँ मरेका मान्छेको नाममा पनि भत्ता दुरुपयोग गर्ने सम्भावनाको अन्त्य भयो । केवाईसी अद्यावधिक गर्नुपर्ने, बर्षबर्षमा लाभग्राहीको अबस्थाको अद्यावधिक गर्नुपर्ने प्रावधानले भत्ता वितरण कार्यलाई थप पारदर्शी र कम चुहावटयुक्त हुन थालेको छ ।

भत्ताका लागि वैँकमा लाइन लागेर बस्नुपरेको दर्दनाक दृश्य यदाकदा देखिन्छ तर त्यसलाई वैँकले व्यवस्थित बनाउन सक्छ । अशक्त वृद्धवृद्धा तथा अपांगहरुको हकमा हकवाला खडा गरी भत्ता प्रदान गर्ने व्यवस्थाले यो समस्या पनि न्यूनिकरण हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्