
दातृनिकायको झूठो वाचा : भूकम्प पीडित विद्यालय र विद्यार्थी संकटमा
शिव उप्रेती
भूकम्पले भत्काएको विद्यालय भवन बनाउने जिम्मा लिएका संघसंस्थाले बीचैमा काम छाडेपछि गोरखाका भूकम्प पीडित विद्यार्थीहरु अहिले पनि घामपानीको सकसमा पढ्न बाध्य छन् ।
भारतीय दूतावास, चिनियाँ दूतावास, गुड नेवर्स इन्टरनेशनल र ओपन लर्निङ एक्स्चेन्ज(ओएलई)ले निर्माणको जिम्मा लिएका १४ वटा विद्यालयका करिब पाँचहजार जना विद्यार्थीहरु टहराको ओत लाग्न बाध्य भएका हुन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार भारतीय दूतावासले १० वटा विद्यालय बनाउने जिम्मा लिएर काम नै सुरु गरेको छैन । चिनियाँ दूतावासले एउटा, गुडनेवर्स इन्टरनेशनलले दुईवटा र ओपन लर्निङ एक्स्चेन्ज(ओएलई)ले एउटा विद्यालयको भवन निर्माण गर्ने जिम्मा लिएका थिए ।
भारतीय दूतावासले निर्माण गर्ने प्रतिवद्धता गरेका विद्यालयको भवन निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका बेला सम्झौता पनि भएको तर अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदी बताउँछन् ।
२०६८ सालमा चिनियाँ राष्ट्रपति सी जिनपिन नेपाल भ्रमणका लागि आउँदा सिंजाली मावि निर्माण गर्ने बारे सम्झौता भएको थियो । सम्झौता गरेको आठबर्ष बितिसक्दा अहिलेसम्म चिनियाँ टोली फर्केर नआएका प्रधानाध्यापक बलनारायण श्रेष्ठ बताउँछन् ।
लापुको कालरात्री मावि र आरुआर्बाङको अलैंचे मावि निर्माणको जिम्मा लिएर काम नगर्ने संस्था गुडनेवर्स इन्टरनेशनल हो । अलैंचे माविको भवन निर्माणको काम कागजमा मात्र भएको छ भने कालरात्री माविको छ कोठे दुई वटा भवन मध्य एउटाको जग खनेर राखेको एक बर्ष बितिसकेको छ । अर्को भवनको डिपिस गरेको पनि एक बर्ष बितिसकेको प्रधानाध्यापक रामकृष्ण खनाल बताउँछन् ।
दाताहरुले आश्वासन मात्र दिएपछि टहराबासी हजारौं विद्यार्थीहरु प्रि–मनसुनको चपेटामा छन् ।
धार्चे गाँउपालिका वडा नम्बर ७ लापुको कालरात्री माध्यामिक विद्यालयको १२ कोठे भवन गत पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी गुडनेवर्स इन्टरनेशनल(जिएनआई)ले जिल्ला शिक्षा कार्यालयसंग सम्झौता गरेको थियो । ‘जीएनआईले गत डिसेम्बरसम्म १२ कोठे भवन बनाइसक्ने भनेर विद्यालयसंग सम्झौता गरेको हो । समयसीमा नाघेको छ महिनाभन्दा बढि भयो । काम १० प्रतिशत पनि भएको छैन’ प्रधानाध्यापक रामकृष्ण खनालले भने ‘लेकको ठाँउ छ । अहिलेसम्म पनि बाँसको कप्टेराले बारेको टहरामा कक्षा चलाउनु परेको छ ।’ टहरोमा पठनपाठन गर्दा एउटा कक्षाको आवाजले अर्को कक्षामा डिस्टर्भ गर्ने प्रधानाध्यापक खनाल बताउँछन् । ‘दुई तीन वटा कक्षाको शिक्षक र विद्यार्थीको आवाज जुधेर समस्या छ’, प्रअ खनाल भन्छन्, ‘बर्खाको बेला पानी चुहिने, भल पसेर कक्षा हिलाम्य हुने समस्या छ । दुईसय ११ जना विद्यार्थीको अबस्था बेहाल छ ।’
सो विद्यालय भवन बनाउन पद्धति विकास सेवा केन्द्रलाई स्थानीय साझेदार संस्थाको रुपमा साथ लिइएको थियो । भवन निर्माणको ठेक्का भने तीन करोड २० लाख रुपियाँ काठमाडौंको एनबी कन्ट्रक्सनलाई दिएको थियो । ठेकेदार कम्पनीले ढुवानीको समस्या देखाउदै काम नगरेको वडा अध्यक्ष सूर्यमान गुरुङ बताउँछन् । ‘ठेक्का लिँदा घटाघटमा लियो, पछि फिल्ड हेर्दा टाढा रहेछ भनेर थाहा पायो, अनि घाटा लाग्छ भनेर भाग्यो’ गुरुङ भन्छन् ‘अहिलेसम्म काम गर्दा ढुवानीको १५ लाख, कामदारको ज्याला पाँचलाख र स्थानीय होटलमा खाएबसेको तीन लाखसहित २३ लाख रुपैया नतिरी सम्कर्पविहिन भएको छ ।’ ठेकेदारले तिर्नुपर्ने रकम दुई गैरसरकारी संस्थाले तिर्नुपर्ने स्थानीयको माग छ ।
संस्थाले भने भाग्ने ठेकेदारसंग सम्झौता भंग गरेको जनाएको छ । भवनको बाँकी संरचना निर्माणका लागि हालै विद्यालय व्यबस्थापन समितिलाई जिम्मा दिएको गुडनेभर्स इन्टरनेशनलका गोरखा कार्यालय प्रमुख द्रोण जीसीले जानकारी दिए ।
कालीका आधारभूत विद्यालय पनि टहरोमै
छ महिनाभित्र अत्याधुनिक भवन निर्माण सम्पन्न गर्ने भनी २०७३ सालको असार १७ गते सम्झौता गरेको ओपन लर्निङ एक्स्चेन्ज(ओएलई)ले अजीरकोट ३ सिम्जुङको कालीका आधारभूत विद्यालय भवन अलपत्र पारेर छोडेको छ । छ कोठे भवन नबन्दा सो विद्यालयका ७० जना विद्यार्थी तीनबर्षदेखि टहरोमा पढिरहेका प्रधानाध्यापक यमबहादुर गुरुङले जानकारी दिए ।
‘पहिले आठ कोठे भवन बनाइदिन्छौं । सबै कक्षामा प्रोजेक्टरबाट पढाउने मिल्ने प्रविधि जोडिदिन्छौं भने । पछि छ कोठे भवन बनाइदिन्छौं भनेर बोली फेरे । कम्प्यूटर, प्रोजेक्टर दिन सक्दैनौं भने’, प्रअ गुरुङले भने, ‘तर तीन फीट अग्लो गारो लगाएर छाडेको पनि दुई बर्ष भइसक्यो अहिलेसम्म अलपत्रै छ ।’ बोली फेर्दै जाने, काम नगर्ने गरेर सो संस्थाले विद्यालयलाई हैरान पारेको प्रअ गुरुङको भनाइ ।
ट्रष्ट भवनको फलामे खम्बाहरु केही गाडेका केही जथाभावी लडाइराखेर भागेका उनले बताए । प्रअ गुरुङका अनुसार ३० पत्ता जति जस्तापाता पनि दुईबर्षदेखि अलपत्र पारेर छाडिएको छ । ‘पहिले १५ दिनमा काम हुन्छ, २० दिनमा काम हुन्छ भनेर टार्थे । अहिले त टेलिफोन गर्दा कहिले फोनै उठाउँदैनन् ।’ उनले भने ।
संस्थाका संयोजक गणेश घिमिरेले स्थानीय केही उच्छृङ्खल युवाहरुले कमिशन मागेर ठेकेदारलाई काम गर्न नसक्ने वातावरण बनाएको आरोप लगाए । उनले फेरि बाँकी काम यही हप्तादेखि सुरु गर्ने आश्वासन दिए ।
एउटा संस्थाले जिम्मा लिएको काममा अरु संस्थाले हात नहाल्ने भएकाले जटिलता पैदा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदी बताउँछन् ।
भारतले १०, चीनले एक विद्यालय अलपत्र पारे
भुकम्पले भत्काएका चारसय चौवालीसमध्य दुईसय पाँचवटा विद्यालय नेपाल सरकार तथा बिभिन्न दातृ निकायको सहयोगमा निर्माण सम्पन्न भए । ४६ वटा विद्यालय निर्माणाधीन छन् । केहीको स्रोत सुनिश्चित भएको छ तर छिमेकी मित्रराष्ट्र भारत र चीनले बनाउने प्रतिवद्धता गरेका ११ वटा विद्यालयको भने अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।
चीनियाँ सरकारको आश्वासन पर्खेर बस्दा सिँजाली माविका तीनसय ५० जना विद्यार्थी बाँसको खपटाले बारेको टहरोमा पढिरहनु परेको प्रधानाध्यापक बलनारायण श्रेष्ठ बताउँछन् । ‘आवश्यक पर्ने जति विद्यालय भवन, कम्प्यूटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, फर्निचर, सौचालय, खानेपानी धारा, खेलमैदान लगायत सम्पूर्ण भौतिक संरचना बनाइदिने भनेर २०६८ सालमा सम्झौता भएको हो’ श्रेष्ठ भन्छन् ‘भएको पुरानो भवन पनि भूकम्पले भत्कियो । अहिलेसम्म अरु सहयोग त परको कुरा भवन नापजाँच गर्न पनि आएका छैनन् ।’
चीनियाँ सहयोग आउने भन्दै भूकम्पपछि सहयोग गर्न आएका दातृ निकाय कुनैले पनि नहेरेको सो विद्यालयको गुनासो छ । ‘भूकम्पपछि आएका संघसंस्थाले साना, ठूला सबै विद्यालय बनाइरहेका छन् । हाम्रो पनि बन्थ्यो होला तर अर्कोसंग सम्झौता भइसकेको भनेर कसैले पनि बनाउन मानेनन् ।’ चीनियाँ सरकारसंग सम्झौता भङ्ग गर्न चाहेर पनि नसकेको उनको भनाइ छ । जिल्लादेखि शिक्षा बिभाग, आठ बर्षयता नियुक्त भएका सबै शिक्षा मन्त्रीलाई भेटेर दुख बिसाए पनि समस्या ज्यूँकात्यूँ भएको प्रअ श्रेष्ठ बताउँछन् । अस्थायी टहरो हावाहुरीले बारम्बार उँडाएर हैरान पर्ने गरेको उनको गुनासो छ ।
भूकम्पपछि सम्झौता भएका सबै छिमेकी विद्यालय बनिसक्दा पनि आफ्नो विद्यालयको अबस्था ज्यूँकात्यूँ रहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कमल परियारको गुनासो छ । ‘हाम्रो वरिपरिका कुनै विद्यालय शिक्षा बिभागले बनाइदिए, कुनै अन्य दातृ निकायले बनाइदिए’ परियार भन्छन् ‘तर आठ बर्षअघि नै सम्झौता भएको हाम्रो विद्यालय भने जस्ताको तस्तै छ ।’ लामो समयदेखि विद्यालय भवन नबन्नुको कारण बारे विद्यार्थी र अभिभावकले सोधेर हैरान पारेको उनको भनाइ छ ।
एक अर्ब रुपियाँसम्म खर्च गरेर पर्याप्त सुविधायुक्त भवन बनाउने आशा देखाएर एकाएक थप प्रक्रिया रोकिएकोप्रति जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले आश्चर्य प्रकट गर्छन् ।
भारत सरकारले १६ कोठे १० वटा विद्यालय निर्माण गरिदिने प्रतिवद्धता गरेको तीन बितेको छ । अमरज्योति जनता मावि, महालक्ष्मी मावि लक्ष्मीबजार, हिमालय मावि सौरपानी, तारा मावि छेपेटार, गण्डकी मावि थुमी, रत्नराज्य मावि वीरेन्चोक, मञ्जुश्री मावि काशिगाउँ, कृष्णज्योति मावि गाँखु, सूर्योदय मावि घ्याल्चोक र वुद्ध मावि सिर्दिबासको सम्पूर्ण भौतिक संरचना बनाइदिने प्रतिवद्धता जनाएको थियो । तर अहिलेसम्म प्रारम्भिक सर्भे पनि नभएको समन्वय इकाइका प्रमुख सुवेदीले जानकारी दिए । रित्तो आश्वासनका कारण अमरज्योति माविका ५०० जना, महालक्ष्मी माविका ६६९ जना, हिमालय माविका ४६३ जना, तारा माविका ५१९ जना, गण्डकी माविका ३५३ जना, रत्नराज्य माविका ३२१ जना, मञ्जुश्री माविका ३४९ जना, कृष्णज्योति माविका २५२ जना, सूर्योदय माविका १९५ जना र वुद्ध माविका ४२० जना गरी चारहजार जना विद्यार्थी घामपानीको सकसमा छन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला सम्झौता भएको थियो’ उनले भने ‘तर यत्तिका समय भयो अझै प्रारम्भिक सर्भे, बिस्तृत सर्भे भएको छैन । कन्सल्ट्याण्ट पनि नियुक्त भएको छैन ।’ उनीहरुले ओगटेका कारण पुनर्निर्माण प्राधिकरणले अरु स्रोत खोज्न पनि नदिएको उनले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका अनुसार भुकम्पले भत्काएकामध्य अहिले गोरखामा जम्मा ३२ वटा विद्यालयको पुनर्निर्माण हुन बाँकी छ । भारत र चीनले बनाउने प्रतिवद्धता ब्यक्त गरेका ११ विद्यालय बनाउनका लागि पुनर्निर्माण प्राधिकरणले अन्य निकायलाई पनि दिन अनुमति दिदैन । अन्य स्रोत पनि नजुट्ने, चीन र भारत सरकारले पनि ढिला गर्दिनाले ती विद्यालयमा अहिलेसम्म पनि टहरामै पठनपाठन भइरहेको समन्वय इकाइ प्रमुख सुवेदीको भनाइ छ ।
क्याप्सन ः भूकम्पपछि टहरोमै पठनपाठन भइरहेको पालुङ्टार नगरपालिकास्थित अमरज्योति जनता माध्यमिक विद्यालय ।




