श्रीकृष्ण प्रणामीद्वारा आयोजित स्वास्थ्य शिविरमा २२५ जनालाई स्वास्थ्य सेवा
श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको आयोजनामा गोरखा नगरपालिका १४ हटिया स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर भएको छ । सप्तगण्डकी अस्पताल प्रालि भरतपुरको चिकित्सकीय सहयोगमा भएको शिविरमा दुईसय २५ जनाले सेवा लिएका श्री कृष्ण प्रणामी युवा परिषद नेपाल गोरखाका संयोजक भीम बगालेले बताए ।
यीमध्ये एक सय ५६ जना महिला छन् । जटिल समस्या भएकाहरुलाई थप उपचार सप्तगण्डकी अस्पतालले सहुलियतमा गर्ने ब्यवस्थापक सुवर्ण हमालले बताए ।
परिषदको गोरखा शाखाका अध्यक्ष इन्द्रवती खत्रीको अध्यक्षता र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । शिविरका उद्घाटन गर्दै मेयर पन्तले नगरपालिकाको ग्रामीण भेगमा शिविर संचालन हुँदा त्यहाँका नागरिकलाई फाईदा पुगेको बताए ।
स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिकाले ठूलो लगानी गरेको बताउँदै उनले संघ संस्थाहरुले गर्ने शिविरमा सहकार्य गर्न र नगरबासीलाई स्वास्थ्य दिलाउन सँधै सहकार्यका लागि तयार रहेको बताए ।
उपप्रमुख बिनाकुमारी श्रेष्ठले महिलाहरु अझै पनि आफ्नो रोग लुकाएर बस्ने गरेकाले घरगाउँमै हुने शिविरबाट उनीहरुले अझै धेरै स्वास्थ्य लाभ लिन सक्ने बताईन् । कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष यदु बगालेले परिषदले देशका बिभिन्न ठाउँमा थुप्रै सामाजिक काम गर्दै आएको र सोही अन्तर्गत देउरालीमा शनिवार शिविर गरिएको बताईन् ।
कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष रामबहादुर खड्का, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, सप्तगण्डकी अस्पतालका सुवर्ण हमाल, लायन्स क्लव प्रणामी समाजका कार्यवाहक अध्यक्ष नारायण खतिवडा, स्थानीय समाजसेवी ढलकबहादुर अधिकारी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला संयोजक भीम बगालेले गरेका थिए ।




