| सोमवार, कार्तिक २३, २०८३

अपांगताप्रतिको विभेद अन्त्य गर्न १ सय ६० किलोमिटर ह्वीलचियर यात्रा

केशव गुरुङ
समाजमा अपांगता भएका व्यक्तिहरुलाई अभैm पनि दया, करुणा र परनिर्भर भनेर नजरअन्दाज गर्ने गरिन्छ । उनीहरु शारीरिक वा मानसिक रुपमा कमजोर हुन्छन् भन्ठान्ने प्रवृतिलाई बदल्न अपांगता भएका दुईजनाले काठमाडौँदेखि गोरखासम्मको ह्वीलचियर यात्रा सम्पन्न गरेका छन् ।

दुवै खुट्टा अपांगता भएका २२ बर्षका दिवस परियार र २४ बर्षका आशिष भुजेलले छ दिने ह्वीलचियर यात्रा शनिबार समापन गरेका हुन् । अपांगता भएका व्यक्तिहरुले केही गर्न सक्दैन भन्ने आमधारणा अन्त्य गर्न काठमाडौदेखि गोरखासम्मको ह्वीलचियर यात्रा सम्पन्न गरेको उनीहरुको भनाइ छ ।

‘दूरदराजमा रहेको अपांगता भएका व्यक्तिहरुलाई जनचेतना तथा अपांगतालाई हेर्ने विद्यमान दृष्टिकोण परिवर्तन गर्न हामीले यात्रा सुरु गरेका थियौ’, परियारले भने, ‘अपांगताको हक र अधिकारको सुनिश्चिता गर्नु, राज्यका हरेक निकायलाई समावेशी बनाउनु पर्छ भन्ने हाम्रो माग हो ।’ राज्यका हरेक निकायमा समावेशी सहभागिता व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

दुवैजनाले प्रयोग गरेको ह्वीलचियरको पछाडि नेपालको राष्ट्रिय झण्डा फरफराउदै थियो । २२ गते काठमाडौको गोकर्णेश्वरबाट सुरु गरेको यात्रा २७ गते गोरखा सदरमुकाममा आएर टुङ्गिएको थियो ।

६ दिनमा एक सय ६० किलोमिटर दुरी ह्वीलचियरमा यात्रा गर्न सफल भएको परियारले बताए । उनीहरु पृथ्वीराजमार्गको धार्के, गजुरी, मुग्लिङ, आँखुखैरेनी हुदै शनिबार गोरखा सदरमुकाम आइपुगेका हुन् । यात्राको क्रममा प्रयोग गरेको सडक, होटल, शौचालय लगायतका भौतिक संरचना अपांगतामैत्री नपाएको उनीहरुको गुनासो छ ।

साथै यात्राको क्रममा विभिन्न समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । यात्रा गर्दा आफूहरुले भोगेका समस्याहरु समाजका प्रतिनिधिमुलक समस्या भएको भन्दै उनले आम मानिसले अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोण बदल्न आव्हान गर्दै हिँडेको परियार बताउँछन् ।

त्यस्तै, काठमाडौँ नेपालको वर्तमान राजधानी र गोरखा नेपाल एकीकरणको जग भएकाले काठमाडौँदेखि गोरखासम्म ह्वीलचेयर यात्रा गरेको उनीहरुको भनाइ छ ।

परियार गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ जराङ निवासी हुन् भने भुजेल उदयपुर जिल्ला रौटामाई गाउँपालिका वडा न १ भुटारका हुन् । परिवार हाल स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै सुविसु नेटवर्क प्रालिमा काम गर्छन् ।

भुजेल थाङ्का चित्र बनाउँछन् ।
जनप्रतिनिधि वा अन्य क्षेत्रमा अपांगता भएकाहरुलाई विशेष आरक्षण गरिनुपर्ने, न्यायमा पहुँच जस्ता अत्यावश्यक अधिकारलाई समावेशी बनाउनु पर्ने उनीहरुको माग छ । उनीहरुले शनिबार ऐतिहासिक गोरखादरबार, गोरखनाथ, गोरखाकाली दर्शन गरेसँगै काठमाडौ–गोरखा यात्रा समापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्