
आफ्नो संस्कृति जोगाउन कर्मकाण्ड सिक्दै मगर समुदाय
गोरखाका मगर समुदाय आफ्नो भाषा संस्कृति जगेर्ना गर्न जागरुक भएका छन् । जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति आफ्नै जातीबाट संचालन गर्न कर्मकाण्ड (वापा÷मापा) सम्बन्धी सात दिने तालिम दिइएको छ ।
नेपाल मगर बुद्ध सेवा समाज जिल्ला समन्वय समिति गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम संचालन भएको हो ।

मगर जातीको भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्न गोरखा नगरपालिका स्तरीय मगर कर्मकाण्ड तालिम संचालन गरिएको समितिका सचिव मंगल थापाले बताए । उक्त प्रशिक्षण कार्यक्रममा जन्म देखि मृत्यु सम्म गरिने विभिन्न संस्कार, संस्कृतिका बारेमा सिकाइको उनले बताए । गर्वमा बच्चा रहँदा गर्ने पुजा, बच्चा जन्मिएपछि न्वारन गर्ने, नाम निकाल्ने विधि, छेवर गर्ने, चौरासी, नयाँ घर बनाएपछि गरिने घरपैँचो, शान्ति पुजा लगायतका विषयमा प्रशिक्षण दिएको थापाले जानकारी दिए ।

मगरजातीको आफ्नो संस्कार संस्कृति आफ्नै पद्धती अनुसार आफ्नै जातीबाट संचालन गर्न वापामापा प्रशिक्षण कार्यक्रम संचालन गरिएको समितिका अध्यक्ष मिन बहादुर थापाले बताए । यो पहिलो चरणको कार्यत्रम भएको बताउँदै आगामी दिनमा यस प्रकारका प्रशिक्षण कार्यक्रमहरु थप संचालन गर्दै जाने लक्ष्य राखिएको उनल बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तनहुँका रि बहादुर राना मगर र समितिका निवर्तमान अध्यक्ष विष्णु थापामगरले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । गत २२ गतेबाट सुरु भएको तालिम २७ गते समापन गरिएको उनले जानकारी दिए । तालिममा नगरपालिका भित्रका १४ वटा वडाका ३१ जना सहभागिता रहेका रहेको थियो ।

समितिका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, नेपाल मगरसंघ जिल्ला अध्यक्ष तथा जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु रानामगर, नेपाल जनजाति महिला महासंघ गोरखाका अध्यक्ष नानुमाया थापा मगर, नेपाल मगर वौद्ध सेवा समाज गण्डकी प्रदेश सदस्य यनबहादुर आलेमगर, नोखबहादर थापामगर लगायतका कार्यक्रममा मन्तव्य राखेका थिए ।




