
जिल्लामा गुणस्तर तथा नापतौल कार्यालयको खाँचो
नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यालय हो, गुणस्तर तथा नापतौल कार्यालय । तर यो कार्यालय कहाँ छ, सर्वसाधारण कसैलाई पत्तोछैन ।
दैनिक उपभोग्य बस्तुको गुणस्तर दैनन्दिन चेकजाँच गर्नु जरुरी छ ।
तर गोरखा बजार होस् वा ग्रामीण भेगका बजारका खाद्य सामग्रीको गुणस्तर कस्तो छ भन्ने बारे न उपभोक्ता सचेत छन्, न प्रशासक ।
कैयौँ दैनिक उपभोग्य सामग्री म्याद नाघेका छन्, कैयौँ सामग्री मिसावटयुक्त । कैयौँ दैनिक उपभोग्य सामग्री ब्राण्डबिहिन छन्, कैयौँ तुच्छ गुणस्तरका । कतिपय पसलबाट ग्राहकले खानका लागि अखाद्य सामग्री किनिरहेका छन् ।
कैयौँ काला बजारियाहरुले तौल घटाएर प्याकिङ गरिएका सामग्री बेचिरहेका छन् । केहीबर्षअघि ३० किलोको चामलमा दुई केजी घटाएर प्याकिङ गरी किनबेच भइरहेको भेटिएको थियो । कैयौँ व्यापारीले नक्कली ढकतराजु बनाएर ठगी गरिरहेका छन् । कैयौँले मूल्य बढाएर सामग्री बेचिरहेका छन् । यसबारे नियमन गर्ने निकाय पहुँचमा छैन । नियमित बजार अनुगमन पनि छैन ।
रिमोटद्वारा तराजुमा तौल घटाएर कुखुरा जोखिरहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका श्याम महर्जनको आरके कोल्डस्टोर्सका कर्मचारीले किसान ठगिरहेका बेला किसानले प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।
उनीहरुले यसअघि पनि बारम्बार गोरखा लगायतका विभिन्न ठाउँका किसानलाई ठगिरहेका थिए । प्रति १०० केजीमा दुई केजी ठग्ने गरेको पक्राउ परेकाहरुले जनाएका छन् । तर किसान भने प्रति १०० केजीमा २० केजी ठग्ने गरेको आरोप लगाउँछन् । यसअघि पनि ठगेको फेला परेपछि किसानले कहिले उनीहरुमाथि हातपात गरे, कहिले रहमा झ्याँके, कहिले सवारी चालक अनुमति पत्र जफत गरे, तैपनि दोषीहरु सच्चिएनन् ।
यसपटक प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । नापतौल विभागमा अनुरोध गर्दा विभागले वास्ता गरेन । प्रहरीले उनीहरुलाई कारबाही गर्न उचित मुद्दा पाएको छैन ।
गुणस्तर तथा नापतौल चेकजाँच गर्ने कार्यालयको जिल्लामा ठूलो खाँचो छ ।




