| सोमवार, कार्तिक २३, २०८३

सामागाउँमा सुटिङ भएको ‘मन्त्र’ वैशाख १६ गते प्रदर्शन

गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मन्त्र’ आगामी वैशाख १६ गते प्रदर्शनमा आउने भएको छ ।

यसअघि माघ २८ गतेबाट देशभर सार्वजनिक गर्ने तयारी भएपनि कोरोना महामारी र लकडाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाई भएको थियो । सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको अभिनय रहेको मन्त्र चलचित्रले मंगलवार प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

चलचित्रमा नमिता घिसिङ, बिरबहादुर लामा, पासाङ टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र स्थानीय कला र संस्कृतिले भरिपूर्ण ‘टिपिकल’ नेपाली चलचित्र बनेको निर्माण पक्षले बताएको छ ।

गोरखा जिल्लाको चुमनुब्री सामागाउँ, वीरेन्द्र ताल र पुङ्गेन गुम्बा लगायतका रमणीय दृश्यहरु कैद गरिएको छ । करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर निकै मेहनतका साथ चलचित्रको छायाङ्कन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताए । गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ ।

यस चलचित्रमार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सहनिर्माता, रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ रहेका छन ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्