चुनावी अभियान लिएर कांग्रेस पुग्यो पालुङ्टार
नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित कार्यक्रम मंगलवार पालुङटार नगरपालिकामा गरेको छ । नेपाली कांग्रेस पालुङटार नगरसभापति बिमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सबै नेता कार्यकर्ताकलाई चुनाब केन्द्रित हुन अनुरोध गरे ।
‘चुनावको मिति तय भईसकेको छ, सबै आफ्नो ठाउँबाट लाग्नुहोस्’, उनले भने, ‘देशलाई सबै खाले संकटबाट उन्मुक्ति कांग्रेसले मात्र दिन सक्छ । जनताको घरदैलोमा जानुहोस्, यो कुरा बुझाउनुहोस् ।’
कार्यक्रममा राष्ट्रिय सभा सांसद कमला पन्तले अन्य राजनीतिक दलसँग सहकार्य गरेर जाने बारे कुनै निर्णय नभएकाले कांग्रेस कार्यकर्ता एक्लै लड्न तयार हुन अनुरोध गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, क्षेत्र नम्बर २ क का सभापति नारायण गुरुङ लगायतले मन्तब्य राखेका थिए ।




