
बारपाकका बासिन्दाबाट गाउँप्रेम सिकौँ
सहरको रहरले अहिले धेरै गाउँहरु खण्डहर छन् । गाउँका ढुंगाले छाएका, दुईतले, तीनतले, घरहरु अहिले रित्ता छन् । ठूलो घरको ठूलो आँगन पातीघारीले ढाकेको छ । बगैँचा, खेतबारी जंगल बनेको छ । बुइँगल, फलैँचा, कोठाचोटा भग्न छन् ।
हातमा अलिअलि पैसा खेलाउन सक्ने भएपछि सहर पस्ने र गाउँ पिठ्युँ फर्कने प्रवृत्तिले यो हविगत भएको हो । कतिपय गाउँमा धनीमानीको घर रित्तो छ भने कतिपय गाउँमा सबै घर रित्तिएका पनि छन् । बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ३ स्वाँरा गाउँ यसको एउटा उदाहरण हो ।
अहिले विशेषगरी बूढीगण्डकी उपत्यका रित्तिँदै छ । माझीटारका काजीको खेतबारीमा माझीले गरिखाएका छन् । त्यस क्षेत्रका दर्जनौँ गाउँहरु अहिले खण्डहर बन्दैछन् । बूढीगण्डकी आयोजनाबाट मुआव्जा पाएपछि धमाधम बसाइँ सरेर सहर पुगेका छन् । आरुघाट बजारको अबस्था पनि यस्तै छ ।
तर बारपाकको अबस्था बिल्कुल बेग्लै छ । बारपाकका बासिन्दामा बिचित्रको गाउँमोह छ ।
यहाँ ब्रिटिश आर्मी, सिंगापुर पुलिस, इण्डियन आर्मीमा भर्ती हुनेको संख्या धेरै छ । विभिन्न कामको सिलसिलामा सहर वा विदेश जानेहरु पनि उत्तिकै छन् । उनीहरु सहरमा वा विदेशमा घर बनाएर बसेकाछन् । तर कोही पनि बारपाक चटक्क छाडेर जाँदैनन् । बारपाकमा रहेको घर पनि उनीहरुले उत्तिकै हिफाजत गरेर राख्छन् । नियमित आउने जाने गर्छन् । यहाँका हरेक गतिविधिमा सहभागी हुन्छन् । मरेपछि पनि
उनीहरुको अन्त्यष्टि गाउँमै हुन्छ । बारपाककीको यो गाउँमोह निक्कै नै उदाहरणी छ, अनुकरणीय छ । अरु गाउँका जो कोहीले पनि काम विशेषले वा पुगिसरी आएर जहाँ बस्न गए पनि गाउँको उत्तिकै माया गर्नुपर्छ । गाउँमा यसैगरी निरन्तर सम्बन्ध कायम गर्नुपर्छ ।




