
आठ महिना बित्दा पनि भीमकुल सहकारीबाट २६ लाख चोर्ने पक्राउ परेन
भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको आठ महिना पुग्यो, अझै चोर पत्ता लागेको छैन ।
प्रहरीको सुस्त अनुसन्धान र सहकारी संस्थाका सञ्चालकको बेवास्ताका कारण चोर पत्ता नलागेको सेयर सदस्यहरुको गुनासो छ । ‘२६ लाख रुपैयाँ चोरी भएको आठ महिना भयो, प्रहरी पनि हातमा दही जमाएर बसेको छ । सहकारीका संचालकहरु पनि कानमा तेल हालेर बसेका छन्’, एक सेयरधनीले भने, ‘जति समय बित्दै गएको छ, उति घटना रहस्यमय हुँदै गएको छ ।
घटनाको अनुसन्धानले तिब्रता नपाएको देख्दा सहकारीका सञ्चालकमाथि नै शंका उब्जिन थालेको छ ।’ मिलिभगतमा घटना भएको हो कि भन्ने गाईँगुईँ चल्न थालेको उनले बताए ।
प्रहरीले अनुसन्धान चलिरहेको र नतिजाको नजिक नजिक पुगेको बताएको पनि आठ महिना बितेको छ । ‘हामीले अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले भने । प्रहरीलाई सहकारीका कर्मचारी र संचालकले देखावटी मात्रै सहयोग गरेका छन् । उनीहरु उक्त घटनाको अनुसन्धान हुनुपर्छ प्रहरीले चोर पत्ता लगाउनुपर्छ भन्ने रटिरहेका छन् । तर आफैँ अनुसन्धान गरिरहेका छैनन् ।’
तर सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ चोर पत्ता नलागुञ्जेल सबैले सबैलाई शंकाको घेरामा राख्नु अस्वभाविक नहुने तर्क गर्छन् । ‘हामीलाई यहाँ सेयर सदस्यले खप्न खान दिएका छैनन् । प्रहरीले पनि हामीलाई धेरै पटक बोलाएर हामीमाथि नै शोध अनुसन्धान गरिसक्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई ताकेता ग¥यौँ भने ल, ल अनुसन्धान गरिरहेका छौँ भन्छ ।’ स्थिति काबुभन्दा बाहिर रहेको उनले बताए ।
चोरी हुनासाथ गाउँलेहरु घटनास्थलमा पसेर अभियुक्तको फिङ्रप्रिण्ट नै नष्ट हुने गरी जथाभावी सामान चलाउँदा अनुसन्धानमा कठिनाइ आएको गुनासो प्रहरीको छ । प्रहरीले कर्मचारी, संचालक समितिको पनि लापर्वाही रहेको जनाएको छ ।
नेफ्स्कुनबाट दुईपटकसम्म प्रावेशन ब्राण्ड पाएको, गतबर्ष गण्डकी प्रदेश सरकारबाट पुरस्कृत भएको भीमकुल साकोस गोरखाको उत्कृष्ठ साकोसमध्य पर्छ । ३५०० जना सेयर सदस्य रहेको सो साकोसको कुल पुँजी ३१ करोड रहेको छ ।
दैनिक वैंकिङ सेवा, आइएमई सेवा सञ्चालन गरेको सो साकोसले कूलपुँजीको दुई प्रतिशत रकम कार्यालय भवनभित्रै राख्न पाउने प्रावधानअनुसार केही रकम राख्ने गरेको थियो । सोही क्रममा गत असार २५ गते राती तीन बजेर २२ मिनेट जाँदा सहकारीको भवन फुटाएर अज्ञात व्यक्तिले २६ लाख ३९ हजार रुपैयाँ चोरेर फरार भएको थियो ।




