
बालबालिकामा राजनीतिक चेतको खाँचो
२०७२ सालअघि बालमैत्री वडा, बालमैत्री गाविस, बालमैत्री नगरपालिका, बालमैत्री जिल्लाको लहर थियो । गोरखाका पनि अधिकांश स्थानीय निकाय बालमैत्री घोषणा भइसकेका थिए ।
बालमैत्री स्थानीय निकाय घोषणा गर्नका लागि विभिन्न सामाजिक संघसंस्थाले काम गरिरहेका थिए । तर २०७२ सालको संविधान घोषणा, संविधान अनुसार राज्य पुनसंरचनापछि यो घोषणा औचित्यहिन भयो किनभने स्थानीय निकायहरु स्थानीय तहमा परिणत भए । नयाँ संरचित स्थानीय तह, त्यहाँको शासकीय संरचना नै बदलियो ।
अहिले सबै स्थानीय तहमा जनप्रतिनिधि छन् । नयाँ विधि विधान अनुसार शासन व्यबस्था चलिरहेको छ । जनप्रतिनिधिहरुको पहिलो अवधि पनि समाप्त हुँदै छ ।
अहिले फेरि बाल क्लवहरुले, बालसञ्जालहरुले बालमैत्री स्थानीय तह, बालमैत्री जिल्ला घोषणाको बहश उठाउन थालेका छन् ।
बालबालिका भनेका भविष्यका कर्णाधार हुन् । भोलिको नेपाल कस्तो बनाउने भन्ने आजका बालबालिकाको हातमा हुन्छ । त्यसैले उनीहरुलाई आजैदेखि संस्कार सिकाउनु जरुरी छ । उनीहरुलाई आजदेखि नै शसक्तिकरण गर्नु जरुरी छ । उनीहरुलाई आजदेखि नै तेजवान बनाउनु जरुरी छ ।
बालबालिका काँचो माटो हुन् । उनीहरुमा रुचिका विविधता हुन्छ । जसलाई राजनीतितिर चाख, चासो, रुचि छ, उनीहरुलाई बिस्तारै राजनीतिक चेत भरिदिनुपर्छ । शासकीय स्वरुप, शासकीय व्यवस्था, अधिकार र कर्तव्यका चेत, दायित्व, जिम्मेवारीका पाठ सिकाउनु पर्छ ।
अहिलेको राजनीतिमा राजनीतिक इमान्दारिता छैन, राजनीति भनेको फोहरी खेल हो भन्ने धारणाले मान्यता पाउँदै गएको छ । जोगी हुन कसैले राजनीति गर्दैन भन्ने छापको दुश्प्रभाव पर्दै गएको छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्दै स्वार्थका लागि जोसित पनि जे पनि गर्न तयार हुने प्रवृत्ति हावी हँुदै गएको छ । त्यसैले आजदेखि नै राजनीतितिर चासो राख्ने बालबालिकालाई नैतिकता, निष्ठाका राजनीतिको पाठ पढाउँदै जानुपर्छ ।




