| आइतवार, कार्तिक २२, २०८३

छेपेटारमा जारी जिल्ला लिग अन्तर्गत आईतवार तीन खेल

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आईतवार तीनवटा खेल भएको छ ।


सतिपिपल युवा क्लव र सुर्योदय क्लव छेपेटार बिच भएको पहिलो खेलमा ४–२ गोल अन्तरले सतिपिपल बिजयी बन्यो । दोस्रो खेल बौद्ध हिमाल र मस्र्याङ्दी युवा क्लव पालुङटारले १–१ को बराबरी खेलेका थिए । आईतवारको तेस्रो खेल दि गुर्खाज युनाईटेड पाटेचौर र च्याङ्ली स्पोटर्स क्लव बिच भएको थियो । उक्त खेलमा २–० गोलअन्तरले दि गुर्खाज बिजयी बन्यो ।


सोमवारको पहिलो खेल दिउँसो १ बजे हरमटारी क्लव र चेपे आदर्श बिच हुनेछ भने दोस्रो खेल तालदेवी युवा क्लव र द ओसन क्लव बिच हुने एन्फा गोरखाका महासचिव बिशाल गुरुङले बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ ।


चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्