
छेपेटार खेलमैदानमा जिल्ला लिग सुरु
गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा हुने खेल शनिवारदेखि सुरु भएको एन्फाका महासचिव बिशाल गुरुङले बताए ।
प्रतियोगिताको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले खेलाडीलाई बल हस्तान्तरण गरेर पहिलो खेल सुरु गराएका थिए । लिग उद्घाटन गर्दै उनले ‘गोरखा जिल्लाले राम्रा खेलाडी उत्पादन गर्न र क्लवहरुको क्षमता बिकासका लागि पनि यो आवश्यक छ’ भनेका थिए । नगरपालिकाले हरेक वडामा मैदान निर्माण गर्ने र छेपेटारको मैदानलाई नगरस्तरीय मैदानको रुपमा बिकास गर्ने उनले बताए । साथै उक्त मैदानमा एन्फाले महिला फुटबल ट्रेनिङ सेन्टरको रुपमा बिकास गर्ने योजना अघि बढाएर काम थालेको एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
पहिलो खेल चेपे आदर्श क्लव पालुङटार र द ओसन क्लव गोनपा बिच भएको थियो । उक्त खेलमा १–० गोल अन्तरले चेपे आदर्श बिजयी बन्यो । शनिवारको दोस्रो खेलमा आदर्श युवा क्लव र तादेवी युवा क्लव पालुङटारले १–१ को बरावरी खेलेका छन् ।
लिग फुटबलको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठले युवाहरुको प्रतिभालाई उजार गर्ने माध्याम खेल भएको बताउँदै अनुशासन र नियम पनि खेलले सिकाउने बताईन ।
चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । ‘बिजेता टिमले गण्डकी प्रदेश स्तरको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ’, उनले भने, ‘त्यहाँ पनि बिजेता भएको खण्डमा शहीद स्मारक सी डिभिजनमा प्रवेश पाउनेछ ।’
कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ । अहिले अवस्था सहज भएकाले लिग फुटबल आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी क्लवले आठजना स्थानीय खेलाडीलाई सहभागी गराउनुपर्नेछ । जिल्ला लिगका लागि आठ लाख ५० हजार खर्च लाग्ने महासचिव विशाल गुरुङले बताए । ७० मिनेट खेलाईने खेलमा उत्कृष्ट पाँचवटा बिधामा पुरस्कार दिने एन्फा गोरखाले घोषणा गरेको छ ।
एन्फामा गोरखा नगरपालिकाभित्रका हरमटारी क्लव, दि गुर्खाज युनाईटेड, द ओसन क्लव, सुर्योदय युवा क्लव र सतिपिपल क्लव आवद्ध छन् । पालुङटार नगरपालिकाबाट चेपे आदर्श युवा क्लव, आदर्श युवा क्लव, तालदेवी क्लव, बौद्ध हिमाल क्लव, च्याङ्ली स्पोटर्स क्लव र मस्र्याङ्दी युवा क्लव आवद्ध छन् ।
२०७६ मा पालुङटारको बौद्ध हिमाल क्लव जिल्ला लिग बिजेता बनेको थियो । तयारीका लागि एन्फाले ११ वटै क्लवलाई १० हजार रुपैयाँ दिने महासचिव गुरुङले बताए ।




