
किन पोस्ट गर्नुहुन्छ उहाँहरु फेसबुकमा आफ्नो तस्वीर ?

………………………………………
चालक गाडी चलाउँदैन–मोबाइल चलाउँछ
भान्छे भात चलाउँदैन–मोबाइल चलाउँछ
आमा बच्चा हेर्दिन–मोबाइल हेर्छे
बच्चा दुध चुस्दैन–मोबाइल चुस्छ
बटुवा बाटो हेर्दैन–मोबाइल हेर्छ
श्रोता वक्ताको वचन सुन्दैन–मोबाइल सुन्छ ।
चेला र चेली पाठ पढ्दैनन् – मोबाइल नै पढ्छन्
गुरु, गुरुआमा पाठ पढाउँदैनन्–मोबाइलमै आँखा गाड्छन् ।
प्रशासक फाइल समाउँदैन, मोबाइलमै रमाउँछ
पुलिस चोर समाउँदैन, मोबाइल नै समाउँछ
डाक्टर बिरामी हेर्दैन, मोबाइल नै हेर्छ ।
कोही कसैसँग बोल्ने फुर्सद छैन
सबै व्यस्त छन्
……………………………………………….
(तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल : काठमाडौँ ।)
कवि अधिकारीले भने झैँ अहिले सबै व्यस्त छन्, विद्यालय, कलेजमा, पसल, अफिस, भान्सामा, सडक, कारखाना, व्यारेकमा, थानामा, फेसबुकमा, ट्वीटरमा, टिकटकमा, युट्युवमा, यी र यस्तै अरु बेनाम सञ्जालहरुमा । किनभने अहिले हातहातमा प्रविधि छ ।
के सबै प्रविधिको कुम्भीपाक नरकमा मात्र छन् त ? यसो पनि कदाचित होइन । प्रविधिको सञ्जालले विश्वभरका श्रव्यदृश्य सामग्री संप्रेषण गरिरहेको छ । प्रविधि नहुँदो हो त रुस र युक्रेनको युद्ध अडियो, भिडियोसहित अर्बौँको हातहातमा कसरी पुग्थ्यो ? व्यक्तिव्यक्तिमा निहित नृत्य, नाट्य लगायतका प्रतिभा आम दर्शकस्रोतामाझ कसरी पुग्थ्यो ? पत्रपत्रिका, टिभी, रेडियोले मात्र दायित्व सम्झेका समाचार आमले संप्रेषण कसरी गर्न सक्थे ? रेडियो नेपाल र म्यूजिक नेपालको दिवारभित्र मात्र सीमित गीत, संगीतको प्रवद्र्धन व्यक्तिव्यक्तिमा कसरी पुग्थ्यो ? सामाजिक सञ्जालकै विकासले ग्रन्थहरुमा मात्र सीमित पाण्डित्याइँ पोडकास्ट, व्लग र भ्लगमा समेत पुगेका छन् ।
सामाजिक सञ्जाल धेरै शक्तिशाली छ । यसले नेपालको सदन र सडक मात्र तताउँदैन, अमेरिकी ह्वाइट हाउस, सिनेटसमेत हल्लाउँछ ।
व्यापक घेराबाट साँगुरिएर अब व्यक्ति–व्यक्तिमा जाउँ । तपाईँ फेसबुक पक्कै चलाउनुहुन्छ । यही फेसबुकबाट कोही सूचना लिन्छन् मात्र, कोही दिन लालयित हुन्छन् ।
कहिल्यै सोच्नु भएको छ, तपाईँ फेसबुकमा कसरी इन्टर्टेन गरिरहनु हुन्छ ? बहुउत्तर आउने प्रश्न हो यो ।
कहिल्यै बिचार गर्नुभएको छ, तपाई फेसबुकमा कस्ता कुरा पोष्ट गर्नुहुन्छ ? बहुउत्तर आउने प्रश्न हो यो ।
यी सवाल पनि छाडौँ र सिधै जाउँ यो नीजि सवालमा, ‘फेसबुकमा तपाईँ आफ्नो तस्वीर किन पोष्ट गर्नुहुन्छ ?’
फेसबुक धेरै चलाउनेमध्यका एक बद्री मास्के भन्छन्, ‘कुनै कार्यक्रम भयो भने त्यसमा छलफलमा भाग लिएको सूचना दिनका लागि । कुनै संघसंस्थामा कुनै पदमा निर्वाचित भएँ भने त्यो सूचना बाँड्नका लागि । कुनै नयाँ ठाउँ भ्रमण गर्न गएको छु र त्यहाँ मलाई कुनै कुराले प्रभाव पारेको छ भने, त्यो अरुहरुलाई पनि बाँड्नका लागि म आफ्नो फोटोसहित फेसबुकमा सेयर गर्ने गर्छु ।
फोटो पोष्ट गर्दा त्यहाँ रहेका प्राइभेट, फ्रेण्डस् र पब्लिक भन्ने बिकल्प रोज्न सचेत छु । वर्थडे मनाएको फोटो सेयर गर्दा फ्रेण्डमा क्लिक गर्छु, सार्वजनिक महत्वको बिषय पोष्ट गर्दा पब्लिकमा । कतिपय फोटो म प्राइभेटमा मात्र पनि सेयर गर्नेगर्छु ।’
अर्का फेसबुक प्रयोगकर्ता स्थानेश्वर दुवाडीको धारणा अलिक फरक छ । उनी फेसबुकबाट प्राय सूचना लिन्छन्, कम दिन्छन् । भन्छन्, ‘प्राय म आफ्नो फोटो पोष्ट गर्दिन । आक्कलझुक्कल गर्नैपरे, आफ्ना स्कूल, कलेजका साथीसंगीका सामु आफ्नो दिनचर्या अद्यावधिक गर्ने उद्देश्यले मात्र फेसबुकमा फोटो पोष्ट गर्नेगर्छु । महत्वपूर्ण साथीहरुसित भेटघाट भयो भने त्यो खुशीको क्षण सार्वजनिक गर्न पनि फोटो खिचेर पोस्ट गर्नेगर्छु ।’
किशोरजंग थापाको धारणा पनि मज्जैको छ । उनी हल्काफुल्का तबरले फेसबुकमा आफ्नो फोटो पोष्ट गर्ने गर्छन् । ‘फेसबुकमा फोटो पोष्ट गर्न नि सोचिरहनु पर्छ र ? यो त प्रविधिले दिएको सुविधा हो त्यसैले मनमौजी उपयोग गर्ने गरिन्छ ।
फेसबुकमा फोटो पोष्ट गर्ने त परम्परा नै भइसक्यो’, अरु कारणहरु पनि उनी यसरी खुलाउँछन्, ‘म यो ठाउँमा यस्तो अबस्थामा छु भनेर साथी शुभेच्छुकहरुलाई जानकारी दिन फोटो पोष्ट गर्छु । अनि खिचिएका फोटाहरु सुरक्षित राख्ने उद्देश्यले पनि म फोटो फेसबुकमा पोष्ट गर्नेगर्छु ।’ निमा लामाको घर छेकम्पार हो, काठमाडौँ बस्छन् । उनी पनि आफ्नो फोटो धेरै फेसबुकमा पोष्ट गर्नेमध्यकै हुन् ।
भन्छन्, ‘पहिले–पहिले खिचेका फोटो धुलाएर एल्बममा राख्नुपथ्र्यो । अनि संस्मरणका लागि साथीभाइ मिलेर एल्बम हेरिन्थ्यो । अचेल त्यस्तो झण्झट छैन । विभिन्न कार्यक्रममा गइन्छ त्यसको प्रचारप्रसार गर्न र पछिसम्म त्यसको स्मरण भइरहोस् भनेर फेसबुकमा राख्नेगर्छु । राजनीतिक कार्यक्रममा सरिक भएको फोटो राख्दिन किनभने एउटा पार्टीको कुरा अरु पार्टीकाले मन नपराउन सक्छन् । बरु समाजसेवा गरेको फोटोहरु प्रचारप्रसार गर्न फेसबुक सजिलो माध्यम भएको छ ।’
व्यवसायिक व्यस्तताका बाबजुद फेसबुकमा धेरै इन्टरटेन गर्नेमध्यमै पर्छन्, इश्वरकाजी मास्के । उनी पनि आफ्ना फोटाहरु फेसबुकमा पोस्ट गरिरहन्छन् । ‘जुनसुकै फोटोहरु पोस्ट गर्दिन । समाजसेवा गरेको फोटो फेसबुकमा राख्दा अरुलाई पनि त्यसले समाजसेवा गर्ने प्रेरणा मिल्न सकोस् भन्ने उद्देश्य हुन्छ’, उनी भन्छन्, ‘फेसबुकमा राखेको फोटो बर्षबर्षमा फेसबुकले सम्झाइदिन्छ त्यही भएर पनि पोस्ट गर्नेगर्छु । अनि कुनै कार्यक्रममा सहभागी भएको फोटो पनि राख्छु किनभने आफूले जानेबुझेको कुरा जान्न बुझ्न अरु पनि प्रेरित होउन् भन्ने मेरो चाहना हो ।’
राजनीतिक गतिविधिमा सक्रिय शरण श्रेष्ठलाई लाग्छ फेसबुकमा फोटो राख्नु समयको माग हो । ‘आफूले गरेका सामाजिक कामको जतिसक्दो प्रचार प्रसार गर्नु समयको माग हो त्यसैले त्यस्ता गतिविधिमा सरिक भएको फोटो फेसबुकमा राख्छु’, उनी भन्छन्, ‘अर्को कुरा फेसबुकमा फोटो राख्ने फेसन–परम्परा) नै भएको छ । त्यही परम्परा फलो गरेका े हुँ । अनि कामको सिलसिलामा कस्ताकस्ता व्यक्तित्वसित भेटघाट भएछ भनेर अरुलाई जानकारी दिनका लागि पनि फेसबुकमा फोटो पोस्ट गर्छु ।’
जो जसले जुन उद्देश्यले आफ्नो तस्वीर फेसबुकमा राखे पनि धित मारेर राख्छन्, आनन्द प्राप्त गर्छन




