
आरुघाटको मान्बुमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण
गोरखाको आरुघाट गाउँपालिकाको वडा नं १ मान्बुमा ‘जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु भएको छ । स्वास्थ्य संस्था सम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न फागुन महिना देखि जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको हो ।
वडा भित्रका ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिन उक्त कार्यक्रम सुरु गरिएको मान्बु स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट प्रबिन थापाले बताए । ‘यो कार्यक्रम चालु वर्षको साउन देखि सुरु हुनेपर्ने थियो तर विविध कारणले रोकियो,फागुनबाट सुरु भएको छ’ उनले भने ‘अहिले सम्म एक सय ७८ जना स्वास्थ्य परिक्षण भइसकेको छ ।’ हरेक महिना १४ गते देखि १९ गते सम्म टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको उनले बताए ।
मान्बुका धोरत, धोर्चेत, पोल्चेत, ढङचेत, धुन्चेत, स्याम्चेत, कोम्राङ, माझगाउँ, सब्चेत लगायका गाउँमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।
सो क्रममा अधिकाश जेष्ठ नागरिकहरुमा दिर्घ रोग, मुटु, दम लगायतका रोग देखिएको छ । ४० प्रतिशतमा नसर्ने रोग देखिएको उनले बताए । गाउँपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बारेमा रेकर्ड राख्न निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ । यसलाई निरन्तरता दिँदै जाने योजना रहेको हेल्थ असिस्टेन्ट थापाले बताए ।




