
विश्वास जित्दै गोरखा अस्पताल
प्रसुतीको पीडा सुत्केरीलाई मात्र थाहा हुन्छ । यसको न अविवाहितले महशुस गर्न सक्ने, न बाँझीले । त्यस्तै हो, अस्पतालको महत्व पनि सञ्चोमान्छेलाई महशुस हुदैन । जब बिरामी वा घाइते भइन्छ, तब अस्पताल के हो, स्वास्थ्यकर्मी को हुन् भनेर यसको महत्व बारे महशुस हुन्छ ।
गोरखामा सबैभन्दा ठूलो भनिएको गोरखा जिल्ला अस्पताल छ । ५० शैयाको यो अस्पतालमा कहिले उत्कृष्ठ सेवा सञ्चालन हुन्छ । धेरैभन्दा धेरै बिरामी, घाइतेहरुले सेवा पाउँछन् । तर कहिलेकहीँ, जनशक्ति र उपकरणको अभाव तथा व्यवस्थापनको असक्षमताले निकृष्ठ सेवा सञ्चालन हुन्छ । स्वास्थ्यकर्मीहरुलाई काम गर्ने वातावरण नै हुँदैन अनि धमाधम राजिनामा गर्दै फर्कँदै गरेका उदाहरण पनि छन् ।
अहिले गोरखा जिल्ला अस्पताल अत्याधुनिक भवनबाट सञ्चालनमा छ । उपकरण र जनशक्तिको अभाव भए पनि उपलब्ध प्राविधिक उपकरणको प्रयोग गर्दै मौजुदा जनशक्तिले भरमग्दुर सञ्चालन गरिरहेका छन् ।
जहाँ सरकारी अस्पताल अस्तव्यस्त हुन्छ, त्यहाँ निजी स्वास्थ्य संस्थाहरु फस्टाइरहेका हुन्छन् । त्यसो त निजीस्तरबाट भए पनि बिरामी, घाइतेहरुको नजिकै(जिल्लामै) उपचार हुन पाउनु सुखद हो । समुदायको स्वास्थ्य सेवाको दायित्व निजी क्षेत्रले लिनु पनि महत्वपूर्ण नै मानिन्छ ।
अहिले गोरखा अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगेको छ । १० देखि २ बजेसम्मको सेवालाई बिस्तार गरी अस्पतालले पेइङ क्लिनिक सेवा सञ्चालन गरेको छ । अस्पतालको सकारात्मक पहल र गुणस्तरीय सेवाको सकारात्मक प्रचार सञ्चरण हुदै गएको छ, जसले गर्दा अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या वृद्धि भएको छ । रेफरल केस घट्दै छ ।
सुत्केरी गराउने गर्भवती महिलाहरु गोरखा अस्पताल आउने क्रम पनि बढेको छ । यो सकारात्मक संकेत हो ।




