
दुख मोचन गर्ने दुर्गमबासीको सपना
हिमाली, लेकाली भेग हेर्दा सुन्दर छ, स्निग्ध छ, महशुस गर्दा शान्त छ, आनन्दित छ । यस भेगको जीवन स्वस्थ छ । हिमाली, लेकाली भेगमा मानसिक रुपमा सुख अवश्य छ, तर नेपालको सन्दर्भमा दुखपूर्वक भन्नुपर्छ, ती भेगमा भौतिक रुपमा हर कुरामा दुख छ । अर्थात आजको मितिसम्म यो भेगको जीवनशैलि हेर्दा यसरी भन्दा अत्युक्ति नहोला, दुर्गमको पर्याय दुख हो ।
बदलिँदो समयसंगै भौतिक पूर्वाधार विस्तार हुँदैछ । हिमाली, लेकाली भेगमा पनि मोटरबाटो बन्दैछ । कतिपय ठाउँमा पुगिसकेको छ, कतिपय ठाउँहरुमा छिट्टै पुग्दैछ, कतिपयमा मोटरबाटो पुग्नेवाला छ । यसले केही दुख, समस्या टार्ला नै तर टाढा हुनुको नाताले तमाम दुख यथावत आउँदो लामो समयसम्म बेहोर्नुपर्ने छ ।
टाढा हुनुले महंगी ज्यादा छ । टाढा हुनुले सरकारी नजर पुग्दैन, जसले गर्दा गाउँका सरकारी संरचनामा कर्मचारी बस्दैनन् । विद्यालयमा पढाइ छैन । बालबच्चाहरु पढ्नकै लागि सानो उमेरमा घर(गाउँ) छाडेर अन्यत्र जानुपर्ने वाध्यता छ । अस्पताल छैनन्, स्वास्थ्यचौकीमा जनशक्ति अभाव, औषधी, उपकरणहरुको अभावले बिरामी महंगो भाडा तिरेर हेलिकोप्टर चार्टर गर्न वाध्य छन्, तत्काल उद्धार नहुँदा बर्षेनी कैयौँको ज्यान गइरहेका छन् ।
बाढी, पहिरोले जीवन कष्टकर बनाइरहेको हुन्छ । पैदल हिड्ने बाटोसमेत सुरक्षित छैन । सहरी सुख, सुविधाको पहुँच छैन । भएका संरचना बिग्रिए, भत्किएमा मर्मत गरी पुनसुचारु गर्न कैयौँदिन(महिना)सम्म कुर्नुपर्ने हुन्छ ।
तमाम तर समस्या समाधान गरिदिन सरकारसम्म स्थानीयको पहुँच छैन । त्यसैले लेकाली, हिमाली भेगलाई अलग्गै जिल्ला बनाउन पाए, स्थानीय स्तरमा सांसद हुनेछन्, उनीहरुले ठाउँमा समस्या राखिदिनेछन् र समस्या समाधान हुनेछ भन्ने स्थानीयबासीको सपना छ । कर्मचारी नियमित बस्ने, जनतालाई सँधै सेवा दिने अभिलाशा स्थानीयको छ त्यसैले अलग्गै जिल्ला बनाउने अभियानमा लागिरहेका छन् । उनीहरुको प्रयास सफल होओस् ।




