| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा सुत्केरी हुन आउनेको संख्या बढ्योे

गोरखा अस्पतालमा सुत्केरी हुने क्रम बढेको छ । करिब दुई महिनायता स्त्री रोग विशेषज्ञ थपिएसँगै अस्पतालमा सुत्केरी हुनेको संख्या बढेको हो । अस्पताल प्रमुख डाक्टर हरिकुमार श्रेष्ठसहित दुईजना विशेषज्ञ अस्पतालमा थपिएसँगै शल्यक्रियाबाट सुत्केरीहुने पनि बढेका छन् ।

‘हामी आएपछि शल्यक्रिया मार्फत सुत्केरी हुने क्रम पनि बढेको छ’ डाक्टर श्रेष्ठले भने ‘यसअघि रिफर हुने केशहरु पनि अहिले यहाँ नै उपचार भएको छ ।’ साउन देखि माघ सम्म गोरखा अस्पतालमा प्रशुती हुनेको संख्या दुई सय २३ रहेको छ ।

माघ महिनामा ४४ जना गोरखा अस्पतालमा सुत्केरी भएका छन् । यीमध्ये तीनजनाको शल्यक्रिया भएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए । असोज, कात्तिक, मंसीरमा एक÷एक जनाले शल्यक्रिया सेवा लिए भने पुस महिनामा शल्यक्रिया सुन्य भयो ।

विशेषज्ञ नहुँदा सेवाग्राही घटेका थिए । ‘अहिले विशेषज्ञ थपिएसँगै सुत्केरी हुन अस्पताल आउने बढेका छन्’, डाक्टर श्रेष्ठले भने, ‘अझै यो सेवा बढ्ने अपेक्षा छ ।’ अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सुत्केरी रिफर हुने क्रम बढेको थियो । कतिपयले भने निजी अस्पतालबाट महँगो शुल्कमा सेवा लिनु परेको गुनासो गरेका थिए । अहिले अस्पतालले साँझ पाँच बजेसम्म बिस्तारित सेवा दिएको सुचना अधिकारी कृष्ण ढकालले बताए ।

गोरखा अस्पताल नयाँ भबनमा सरेसँगै स्तरीय उपकरण, विशेषज्ञ चिकित्सक रहेकाले सुत्केरी र बालवालिकालाई सहज सेवा दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्