
शिवरात्री मेलामा भीमविरेश्वर मन्दिरमा भक्तजनको भीड
गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ बुङ्कोटघाटस्थित भीमवीरेश्वर मन्दिरमा महाशिवरात्री मेला आयोजना गरिएको छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विसं १८८८ मा निर्माण गरेका मन्दिर परिसरमा शिवरात्रीको अवसरमा मंगलबार मेला गरिएको हो ।
भीमवीरेश्वर महावेद मन्दिर गुठी ब्यवस्थापन समितिले महाशिवरात्री मेला आयोजना गरेको समितिका सचिव सुशासन श्रेष्ठले बताए । उक्त मन्दिर ऐतिहासिक र कलात्मक छ । भीमवीरेश्वर महादेव मन्दिर गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्टिूय गौरवको बूढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्छ । डुवान क्षेत्रमा पर्ने उक्त मन्दिर लामो समयदेखि संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको थियो ।
शहीदलखन गाउँपालिकाले उक्त मन्दिर वडा नम्बर ९ भित्रै डुबान नपर्ने ठाउँमा स्थानान्तरण गर्न २०७४÷०७५ मा बजेट बिनियोजन गरेको थियो । बूढीगण्डकी जलविद्यूत आयोजनाले स्थानान्तरण गरिदिने बताएपछि गाउँपालिकाले स्थानान्तरण गरेन । आयोजनाले समयमै स्थानान्तरण नगर्दा जीर्ण बनेको उक्त मन्दिर गाउँपालिकाको सहयोगमा भीमवीरेश्वर महादेव मन्दिर गुठी ब्यवस्थापन समितिले जिर्णोद्वार गरेको छ । मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।
भत्किएका ठाउँमा मर्मत, रङ्गरोगन गरेर चिटिक्क बनाइएको समितिका सचिव श्रेष्ठले बताए । ऐतिहासिक धार्मिक तथा संस्कृतिक सम्पदाको रुपमा रहेको भीमवीरेश्वर मन्दिर संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा त्यहाँ भएका कलात्मक ढुङ्गा, त्रिशुलहरु हराउने, मन्दिरलाई झाडीले छोप्ने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए ।
शिवरात्रीकै अवसरमा मनोरन्जनका लागि मन्दिर परिसरमा गोरु जुधाईएको थियो । मन्दिरमा गोरखा शहिदलखन र धादिङका ज्वालामुखी गाउँपालिकाका सयौँ भक्तजनको भिड लागेको थियो ।




