| बुधबार, जेष्ठ ५, २०८३

जङ्गबहादुर राणाको मृत्युको वास्तविकता

जीवन आले मगर

“म मर्न गइरहेको छैन, म मूर्दा अवस्थामा परिणत भएँ भने जङ्गबहादुरको पनि प्राण अन्त्य हुनेछ ।” ( प्रथम शहीद लखन थापा मगर नेपालको इतिहासमा जहानियाँ राणाशासनको विरुद्धमा जनस्तरवाट सवैभन्दा पहिलो पटक सशस्त्र विद्रोह गरेको कारणले लखन थापा मगर, जयसिंह चुमी राना मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ, अछामी मगर र अजपसिंह थापा मगरलाई राणा शासनका प्रवर्तक जङ्गबहादुर राणाको आदेशमा वि.सं. १९३३ पुष ७ गते गोरखाको वुंकोट काहुले भंगारमा झुण्ड्याएर मारिएको थियो ।

त्यतिवेला सबैभन्दा पहिले वलिदानी दिने विद्रोही नेता लखन थापा मगर नेपालको प्रथम शहीद हुन । जतिवेला लखन थापा मगर र उनका अन्य ६ जना सहयोद्धाहरुलाई राणा सरकारको आदेशमा झुण्ड्याउने तयारी भइरहेको थियो, त्यतिवेला नै लखन थापामगरले माथिको भनाई व्यक्त गरेका थिए । उनको यो भनाइको तात्पर्य थियो, राष्टू र जनताको हितमा बलिदान दिनेहरुको भौतिक शरीर मरेर गएपनि उनीहरुले नेपाली समाजमा संचार र प्रवाह गरेका प्रजातान्त्रिक विचारको डोब कहिल्यै मेट्न सकिँदैन । त्यसैले जनस्तरवाट उठेको पहिलो विद्रोहको क्रममा विकसित नेपाली जनताहरुको विद्रोही चेतनाको कारणले प्रजातान्त्रिक आन्दोलनले निरन्तरता पाई छिट्टै निरङ्कुश राणाशासनको अन्त्य गरी छाड्ने लखन थापा मगरको विश्वास रहेको थियो ।

यसरी नेपाली समाजमा प्रजातान्त्रिक आन्दोलनको चेतना प्रवाह भइसकेको र त्यसले निरङ्कुश सत्ता र राणा सरकारको अन्त्यको लागि निरन्तर रुपमा धावा वोलिरहने तर्फ संकेत गर्दै उनले त्यतिवेला उक्त विचार व्यक्त गरेका थिए ।

१०४ बर्षसम्म कायम रहेको जहानियाँ राणा शासनको स्थापना गर्ने जंगबहादुर राणाले ३० बर्षसम्म नेपालको प्रधानमन्त्री रही शासन गरेका थिए । उनको मृत्यु वि.सं. १९३३ फागुन १३ गते बाराको पत्थरघट्टामा भएको थियो । उनको मृत्युको विषयलाई गोप्य राखेर वास्तविकता लुकाउन खोजेपनि इतिहासका जानकार व्यक्तिहरु यस घटनालाई स्वाभाविक मृत्युको रुपमा स्वीकार गर्न तयार देखिदैनन् । ज्वरो आएर, मुटुमा वोसो लागेर, झाडा पखाला लागेर वा बाघको आक्रमणबाट उनको मृत्यु भएको भन्ने भनाईमा देशी(विदेशी इतिहासकारहरुले शंका व्यक्त गरेका छन् । जङ्गबहादुर राणाका साहिँलो छोरा पद्मजंग राणाले आफ्नो पुस्तक “लाइफ अफ महाराजा सर जङ्गबहादुर” मा जङ्गबहादुरको मृत्यु झाडापखाला र ज्वरोको कारणले भएको बताएका छन् ।

त्यसैगरी मुटुमा बोसो लागेको कारणले जङ्गबहादुरलाई अकस्मात आँखा नदेख्ने र दिशा लाग्ने समस्या देखिएको र सोही कारणले उनको मृत्यु भएको भन्ने इतिहासकार पुरुषोत्तम शमसेर ज.ब.रा.ले उल्लेख गरेका छन् । अर्को तर्फ जङ्गबहादुरलाई लिँडे बाघले मारेको भन्ने जनश्रुति समेत नेपाली समाजमा रहेको छ । त्यसैगरी जार काट्न जङ्गबहादुरबाट अनुमति लिएका एक जना मगर युवक (जसको श्रीमती जङ्गबहादुरले लगेका थिए) को खुकुरी प्रहारबाट जङ्गबहादुरको हत्या भएको समेत विश्वास गरिन्छ ।

इतिहासकार एवम् अन्वेषक जनलाल शर्माका अनुसार जङ्गबहादुरको हत्यालाई गोप्य राख्न लासलाई कपडाले छोपेर राखी सती जाने उनका रानीहरुलाई समेत शव हेर्न नदिई शव राखिएको बाकस नखोलिकनै दाहसंस्कार गरिएको थियो ।

जङ्गबहादुर राणाको मुटु वरिपरी वोसो जम्न लागेको भनी डाक्टर फेररले बताएको भनी उल्लिखित भनाइ सत्य नभएको इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरको भनाई रहेको छ । किनकी त्यतिवेला बिदेशबाट समेत चिकित्सक झिकाएर उपचार गराउन सक्ने जङ्गबहादुरले कुनै औषधी उपचार नगराएको र डा.फेररले पनि आफ्नो जीवनी सम्वन्धी पुस्तकमा उक्त कुरा उल्लेख नगरेकोले जङ्गबहादुरको मुटुमा बोसो लागेको भन्ने बिषयलाई सत्य मान्न सकिँदैन भन्ने प्रा.डा. मान्धरको मत रहेको छ । लिँडे बाघको अर्थ पुच्छर नभएको वा ठूटो बाघ भन्ने हुन्छ । तर नेपालको जङ्गलमा त्यस्तो बाघ हालसम्म फेला परेको छैन । त्यसैले उनलाई बाघले मारेको भन्ने तर्क पनि तथ्ययुक्त देखिँदैन ।

No description available.


जङ्गबहादुर राणाको जीवनकालको अन्तिम समयतिर लखन थापामगरको नेतृत्वमा भएको विद्रोह मुख्य गरी राणाशासन र जङ्गबहादुरको सरकार विरुद्ध केन्द्रित थियो । लखन थापामगरले जङ्गबहादुरलाई हत्या गरी पदच्यूत गर्ने र नेपालमा सुनौलो (प्रजातान्त्रिक) व्यवस्था ल्याउने योजना बनाएका थिए । इ.सं. १८७६ फेबु्रअरीमा जङ्गबहादुर राणा कैलालीको बनबासामा शिकार खेल्न गएका थिए ।

उक्त शिकार सकेर काठमाडौँ फर्कदा चन्द्रागिरीको देउरालीको आसपासमा धराप थापी आक्रमण गर्ने लखन थापाले योजना बनाएका थिए । सो योजनाबारे सुराकी मार्फत गोप्य सूचना प्राप्त भएपश्चात् बलियो सुरक्षा व्यवस्था मिलाएर जङ्गबहादुर काठमडौँ फर्किएका थिए । जङ्गबहादुरले लखन थापामगरको जनविद्रोहको सम्पूर्ण योजना थाहा पाए पश्चात आफ्नो शासन सत्तामा चुनौती आएको महसुस गरी उक्त विद्रोहलाई दबाउन देवीदत्त पल्टनको ३ कम्पनी सेना गोरखा पठाएका थिए । त्यस घटनाक्रमले पनि लखन थापा मगरको विद्रोही अभियानको क्रममा जङ्गबहादुर राणाको भौतिक जीवनको समाप्त गर्ने उद्देश्य राखिएको छर्लङ्ग हुन्छ ।

केही लेखक तथा खोजकर्ताहरुले जङ्गबहादुरको स्वाभाविक मृत्यु भएको नभई हत्या भएको र त्यसमा लखन थापामगरको विद्रोहको प्रत्यक्ष हात रहेको उल्लेख गरेका छन् । पत्रकार एवम् खोजकर्ता लोकनेश ढेँगा मगरका अनुसार, घोडा चढेर शिकार यात्रामा गएका जङ्गबहादुरलाई धादिङ्को बेनीघाटमा लुकेर बसेका लखन थापामगरको विद्रोहमा सक्रिय एकजना व्यक्तिले खुकुरी प्रहार गरी घायल बनाए थिए ।

त्यसपश्चात् जङ्गबहादुर भुइँमा ढलेका थिए । त्यहाँ रहेका सैनिकहरुलाई धीरशमशेरले केही धन दिएर रगतले सहीछाप गर्न लगाई हत्याको रहस्य उजागर नगर्ने सपथ गराई घायल भई बेहोस भएको जङ्गबहादुरलाई पत्थरघट्टा पु¥याएका थिए । उनको त्यहीँ मृत्यु भएको प्रचार गरियो । वास्तवमा गोरखा विद्रोहको दौरानमा गोरखाको दक्षिणी भू(भागसँग जोडिएको बेनीघाटमा जङ्गबहादुर राणालाई हमला गरेर मार्नुमा लखन थापामगरको विद्रोहको प्रभाव थियो ।

लखन थापालाई झुण्ड्याएर मार्न आदेश दिइसके पश्चात् जङ्गबहादुर राणाको एकजना रानीले लखन थापालाई मारेमा जङ्गबहादुरको गाथमा राम्रो नहुने सपना देखेको बताएकी थिइन् । संभवतः लखन थापाले धेरै मानिसहरुलाई प्रजातान्त्रिक चेतना प्रदान गर्नुका साथै सैनिक तालिमद्वारा प्रशिक्षित गराएको र विद्रोहमा ठूलो जनसमर्थन प्राप्त गरेको तथ्यबाट रानी त्रसित भएकी थिइन् । नेपाली जनमानसमा फैलिएको प्रजातान्त्रिक चेतनाको कारणले गर्दा लखन थापामगरको भौतिक शरीर नरहे पनि राणा विरोधी विद्रोही अभियान रोकिने अवस्थामा थिएन । लखनले प्रशिक्षित गरेका विद्रोहीहरुले जुनसुकै वेला जङ्गबहादुर राणाको हत्या गर्न सक्ने त्रास रानीको मनमा जन्मिएको थियो । त्यसैले जङ्गबहादुरको जिउज्यान असुरक्षित हुने देखेर चिन्तित भई रानीको अन्तर मनमा त्यो विषयले गहिरो प्रभाव पारेकोले त्यस्तो सपना देखेको हुनु पर्दछ ।

जङ्गबहादुरले लखन थापाको हत्या गरेपनि नेपाली जनताहरुमा राणाशासन प्रतिको रोष र असन्तोष कायमै रहेको थियो । त्यसैले लखन थापालाई फाँसी दिइएको छोटो समयमा नै राणा सरकार विरुद्ध सुकदेव गुरुङ र सुपति गुरुङले “नौ सरकार बौद्ध बादशाह” को नामबाट विद्रोह अघि बढाएका थिए ।

नेपाली समाजमा जङ्गबहादुरको हत्या “लिँडे बाघ” र “जार काट्ने मगर युवक” को हातबाट भएको भन्ने जनश्रुति रहेको पाइन्छ । अलिखित इतिहासको रुपमा अघिल्लो पुस्तावाट नयाँ पुस्तामा उक्त जानकारी हस्तान्तरण हुँदै आएको छ । मगरलाई अपमानजनक रुपमा सम्बोधन गर्दा “लिँडे” भन्ने चलन रहेको छ । त्यसैले लिँडे बाघले मारेको भन्ने भनाइले कुनै साहसी मगर युवकको आक्रमणबाट जङ्गबहादुरको हत्या भएको सङ्केत गर्दछ । अर्कोतर्फ विद्रोहीको हातबाट हत्या भएको भन्नु लज्जास्पद हुने भएकाले आफ्नो श्रीमती जङ्गबहादुरले जवजस्ती लगेको मगर युवकले खुकुरी प्रहार गरेको कारणले घाइते भई जङ्गबहादुरको मृत्यु भएको प्रचार गरिएकोे अनुमान गर्न सकिन्छ ।

जङ्गबहादुर जस्ता शक्तिशाली र निरङ्कुश व्यक्तिको हत्या विद्रोहीको हातवाट भएको तथ्य बाहिर ल्याउनु भनेको उनका उत्तराधिकारी राणाहरुको लागि लज्जाको बिषय थियो । त्यसैले हत्या भएको वास्तविकतालाई ढाकछोप गर्नको लागि तत्कालीन सरकार र राणासरकारका पक्षधरहरुबाट बिभिन्न झुटा प्रचार गरिएको थियो । जङ्गबहादुरको हत्या विद्रोहीले आक्रमण गरेको कारणले भएको भन्ने यथार्थ विषय समेत भित्रभित्रै नेपाली समाजमा प्रवाहित र सञ्चार भयो । तर उक्त वास्तविकता तत्कालीन प्रतिकूल परिस्थितिमा कोही कसैले लेख्न सक्ने अवस्था थिएन ।

फलस्वरुप हत्या भएको भन्ने जानकारी नेपाली समाजमा मौखिक रुपमा हस्तान्तरण हुँदै जनश्रुतिको रुपमा रह्यो । जसले गर्दा नेपाली समाजमा उनको हत्याको सम्वन्धमा विभिन्न धारणाहरु बने । त्यसैले उनको मृत्युको विषय थप रहस्यात्मक बन्दै गयो ।
लखन थापामगरको नेतृत्वमा राणाशासन विरुद्ध जनविद्रोह सञ्चालन गर्ने क्रममा निर्माण गरिएको गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं. ७, वुंकोटको काहुले भंगारमा निर्मित विद्रोही किल्लाको नजिक रहेको धादिङ जिल्लाको बेनीघाट क्षेत्र त्यतिवेला उक्त विद्रोहको प्रभावित क्षेत्र भित्र पर्दथ्योे ।

त्यसैले प्रथम जनविद्रोहको तथ्य, ऐतिहासिक घटनाक्रम, नेपाली समाजमा अलिखित रुपमा रहेको ऐतिहासिक जानकारी जस्ता विषयबस्तुहरुको विश्लेषण गर्दा लखन थापामगरको नेतृत्वमा सञ्चालित उक्त प्रथम जनविद्रोहको क्रममा प्रशिक्षित एकजना मगर युवकको आक्रमणवाट जङ्गबहादुर राणाको हत्या भएको र त्यस तथ्यलाई तोडमोड गरी तत्कालीन समयमा शासक पक्षले काल्पनिक विषय प्रचार गरेको निष्कर्षमा पुग्न सकिन्छ । त्यतिवेला बेनीघाटबाट नजिक रहेको काठमाडौँमा उनको शव नलगी धेरै टाढा रहेको बाराको पत्थरघट्टामा पु¥याइएको थियो ।

धादिङको बेनीघाटमा विद्रोहीको आक्रमणबाट मृत्यु भएका जङ्गबहादुरको हत्याको वास्तविकता गोप्य राख्ने उद्देश्यले उनको शव राजधानी काठमाडौँ नलगी बारा पु¥याइएको थियो । मृत्यु हुने बेलामा बाराको पत्थरघट्टा लैजाने क्रममा जङ्गबहादुरले बाटोमा रगत बमन गरेको बताइन्छ । तर रगत बमन गरेको भन्ने विषय पनि हत्या भएको यथार्थता लाई बङ्ग्याउने हेतुले प्रचार गरिएको आशंका गर्न सकिन्छ । वास्तविकता के हुन सक्दछ भने लखन थापामगरबाट प्रशिक्षित बिद्रोहीको आक्रमणवाट गम्भीर चोट लागेको कारणले जङ्गबहादुरको शरीरवाट बगेको रगतले बाटो रक्ताम्य भएको र उक्त यथार्थतालाई ढाकछोप गरी सर्वसाधारण व्यक्तिहरुलाई भ्रमित तुल्याउनको लागि त्यतिवेला रगत बान्ता गरेको भनी झूटो प्रचार गरिएको थियो ।

ऐतिहासिक घटनाक्रम र तथ्यहरुको अध्ययन र विश्लेषण गर्दा लखन थापामगरको हत्या गरेपनि उनीवाट प्रशिक्षित नेपाली जनताहरु प्रजातान्त्रिक शासन प्रणाली स्थापनाका लागि उनले देखाएको विद्रोही बाटोमा निरन्तर अघि बढि नै रहेको बुझ्न सकिन्छ । यसरी विद्रोही अभियान जारी राख्ने क्रममा निरङ्कुश राणा शासनका प्रवर्तक जङ्गबहादुर राणाको हत्या गर्ने योजना कायमै रह्यो । जसको फलस्वरुप उक्त विद्रोहमा प्रशिक्षित एकजना मगर युवकले गरेको घातक आक्रमणबाट घाइते भई जङ्गबहादुरको हत्या भएको तथ्य बढी विश्वसनीय देखिन्छ ।

यो बिषय नेपाली इतिहासको सच्चाई पनि हो । जनविद्रोहीबाट निरङ्कुश शासक जङ्गबहादुर राणाको हत्या भएको तथ्यले जनविरोधी शासकहरुले ढिलोचाँडो जनताहरुको कठघरामा उभिनुपर्ने र उनिहरुको जीवन लीला जुनसुकै समयमा पनि समाप्त हुन सक्ने सन्देश प्राप्त गर्न सकिन्छ ।
(नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर नामक प्रकाशोमुख कृतिको केही अंश)

(लेखकः जीवन आले मगर (प्रमुख प्रशासकिय अधिकृत शहीदलखन गाउँपालिका)
इमेलः jeewankusum@gmail.com

प्रतिक्रिया दिनुहोस्