
आत्महत्या निरुत्साहनमा जोड देउ
जिल्ला प्रहरी कार्यालय गोरखामा गत साउनदेखि यही फागुन १२ गतेसम्मको तथ्यांक केलाउँदा जिल्लामा ३५ जनाले आत्महत्या गरिसकेको पाइन्छ । यीमध्ये पुरुष २० जना छन् । युवा उमेरका ११ जना छन् । अन्य बालवालिका, बयस्क र जेष्ठ नागरिक पनि छन् । जुन उमेरका भएपनि आत्महत्या दिनदिनै बढ्नु समाजका लागि दुखद घटना हो ।
मानसिक रुपमा बिचलित भएर, जीवनदेखि हार मानेर, आफ्ना रुची, चाहना, आवश्यकता पूरा गर्न नसकेकै कारण आत्महत्या रोजिरहेको पाइन्छ । प्रहरीमा दर्ता भएका अधिकांश घटनामा कारण यस्तै छ । आत्महत्याको घटना बिगतका वर्षमा पनि गोरखामा महिनामा पाँचदेखि आठ वटासम्म हुँदै आएको छ । आत्महत्या न्यूनिकरण तर्फ सरोकारवालाले ध्यान नदिँदा गोरखामा यस्ता घटना रोकिएको छैन ।
कोभिड संक्रमण अघिसम्म प्रहरीले गाउँगाउँमा सचेतनाका कार्यक्रम संचालन गथ्र्यो । विद्यालय, स्कुल, महिला समुहमा गएर माताहतका चौकीहरुले हिंसा न्यूनिकरण, आत्महत्याका कारण, यसबाट बच्न ध्यान दिनुपर्ने कुरा, आत्महत्या निरुत्साहित गर्ने खालका कार्यक्रम गर्थे । अहिले यी कार्यक्रम भएका छैनन् ।
स्थानीय तहहरुले आत्महत्या न्यूनिकरणका कार्यक्रम संचालन गर्न सकेका छैनन् । कुन समुदायका मानिसहरु के कारण आत्महत्याको बाटो रोजिरहेका छन् ? उनीहरुलाई आत्महत्या गर्नबाट निरुत्साहित गर्न के गर्न सकिन्छ भन्ने योजना स्थानीय तहहरुले बनाउनुपर्ने देखिन्छ । लक्षित समुदायमा सचेतनाका कार्यक्रम संचालन गर्ने हो भने आत्महत्याको दर घट्ने पक्का छ ।
क्षणिक अबेग र उत्तेजनालाई काउन्सिलिङ मार्फत कम गराउन सकियो भने बालवालिका, युवा अवस्थाका मानिसमा बढ्दो आत्महत्या दर न्यूनिकरण गर्न सकिन्छ । यसतर्फ स्थानीय तहमा रहेका न्यायिक समितिले योजना बनाएर सरोकारवालालाई साथै लिएर कार्यन्वयनमा पनि ध्यान दिनुपर्छ । अन्यथा बढ्दो आत्महत्याले सामाजिक र मानसिक बिचलन बढ्ने खतरा हुन्छ ।




