| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आत्महत्या गर्ने पुरुष धेरै, सचेतना शुन्य

गोरखामा पछिल्लो समय आत्महत्याको क्रम बढ्दो छ । १८ देखि २५ वर्ष भित्र उमेरका मानिसहरु आत्महत्याको शिकार बनेका छन् । मानसिक बिचलनका कारण यो उमेरका पुरुष आत्महत्यामा संलग्न देखिन्छन् ।

चालु वर्ष हाल सम्म आत्महत्या गर्नेको संख्या ३५ रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । यी मध्ये पुरुष २० जना छन् भने महिला १० जना र बालिका पाँच जना छन् ।
चालु वर्षको साउन देखि फागुन १२ गते सम्म १८ देखि २५ वर्षका ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्याङ्क छ । ३६ देखि ४५ वर्ष उमेरका सात जना छन् भने १८ वर्ष मुनिका पाँच जना छन् । बालवालिकामा पनि आत्महत्याको दर बढ्दो छ । बुधवार गोरखा नगरपालिका ३ मा १३ वर्षिय बालिकाले आत्महत्या गरिन् । यस्तै घटना गत वर्ष गोरखामा पाँचवटा भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा १८ वर्ष मुनिका नौ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै आत्महत्या गोरखा नगरपालिका भित्र ११ जनाले गरेका छन् भने पालुङटार नगरपालिकामा सात जना, भिमसने थापा गाउँपालिकामा सात जना, सिरानचोमा चार जना, बारपाक सुलिकोट, आरुघाट र अजिरकोटमा दुई÷दुई जनाले आत्महत्या गरेका उनले बताए ।
गोरखाको तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकामा भने आर्थिक वर्ष २०७५÷७६ यता आत्महत्याको कुनै घटना प्रहरीकहाँ दर्ता भएको छैन । गत वर्ष चुमनुब्री बाहेक सबै पालिकामा आत्महत्याको घटना घटेको थियो । २०७७÷७८ मा पालुङटार नगरपालिका क्षेत्र भित्र २२ जनाले अत्महत्या गरेको प्रहरीले जनाएको छ । ४६ वर्षदेखि माथिका १० जना र २६ देखि ३५ वर्षका दुई जना रहेका छन् । गत वर्ष ७९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यी मध्ये ४५ जना पुरुष थिए ।

२०७६÷७७ मा पनि यो संख्या ७३ थियो भने पुरुषको संख्या ३५ थियो ।
आत्महत्याको मूख्य कारण गरिबी, कमजोर आर्थिक स्तर र मानसिक बिचलन धेरै देखिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी बताउँछन् । ‘चाहना पुरा नभए, पढाईको असफलता, साथीभाईको देखासिखी अनुसार आफुलाई तुलना गर्ने गरेर, बयस्क उमेरको बिभिन्न नाता संम्बन्धलाई लिएर आत्महत्या तर्फ प्रेरित भएकाहरु देखिन्छन्’ प्रहरी निरीक्षक अधिकारीले भने ।

यसलाई न्यूनिकरण गर्न प्रहरीले गर्दै आएको चेतनामुलक कार्यक्रम कोभिडका कारण संचालन हुन सकेको छैन । विद्यालय, क्याम्पस र समुदायमा पुगेर प्रहरीले चेतनामुलक कार्यक्रम गर्दै आएको थियो । ‘कुन स्थानीय तहमा धेरै घटना भएको छ र कुन समुदायमा भएको छ त्यो हेरेर नियन्त्रण गर्ने कार्यक्रम चलाउनुपर्छ’ प्रहरी निरीक्षक अधिकारीले भने ‘सबैको सहयोग बिना प्रहरी एक्लैले यो निरुत्साहीत गर्ने खालका कार्यक्रम चलाउन सक्दैन ।’ आत्महत्या रोक्न सचेतना र आबेग नियन्त्रण, काउन्सिलिङ नै पहिलो उपचार रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्