| सोमवार, कार्तिक २३, २०८३

तीनवर्ष अघि बनेको गुरुकुलको भबन प्रयोग बिहिन

तीन वर्ष अघि निर्माण सम्पन्न भएको गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयको भबन प्रयोगबिहिन भएको छ । जिल्ला आयोजना कार्यन्वयन इकाई मार्फत करिब ७० लाखमा २०७५ सालमा निर्माण सम्पन्न भएको उक्त भबन अहिले सम्म प्रयोगमा नआएको हो ।

‘भबन तयार भएको तीन वर्ष भयो तर त्यहाँ शौचालय नहुँदा हामीले संचालन गर्न सकेनाँै’ गोरक्षनाथ बैद्धिक गुरुकुल विद्यालयका शिक्षक इश्वरीप्रसाद उपाध्यायले भने । अहिले गोरखा नगरपालिका ६ स्थित प्रतिष्ठानको स्वामित्वमा रहेको एउटा घरमा विद्यालय संचालित छ ।

नयाँ बनेको दुई तले भबन प्रयोग गर्ने हो भने गुरुकुलमा अध्ययनरत २८ जना विद्यार्थीलाई पठन पाठनमा सहज हुन्छ । अहिले साँघुरो गरी कोचिएर बस्नुपरेको गुनासो विद्यार्थीको पनि छ । नयाँ भबनमा शौचालयको स्टमेट पहिले नभएको र पछि बनाउँदा बजेट अभाव भएपछि काम बिचैमा रोकिएको शिक्षक उपाध्ययले बताए । ‘अहिले पनि शौचालय संचालनमा छैन, हामीले त्यहाँबाट पढाई सुरु गर्न सकेका छैनौँ’ उनले भने ‘पहिरोको पनि जोखिम छ ।’

गुरुकुलमा पढ्ने विद्यार्थी र पढाउने शिक्षक आबासिय रुपमा बस्नुपर्ने भएकाले अहिले बनेको नयाँ भबन आबासका लागि कम हुने गुरुकुलले जनाएको छ । आठ आना जग्गामा बनेको भबन नजिकै रहेको रानीबन मन्दिर क्षेत्रलाई आबासको रुपमा लिन सक्ने हो भने अहिले बनेको भबन वैद्धिक गुरुकुल विद्यालयको रुपमा ब्यवस्थित तरिकाले संचालन गर्न सकिने उनले बताए ।

‘बिभिन्न ठाउँमा साधक साधिका, गुरुहरु आउनुहुन्छ, आश्रममा बस्न खोज्नुहुन्छ’ उनले भने ‘हामी आफैँ साँघुरो गरी बसेका छौँ, विद्यालय संचालन गर्नै समस्या भएकाले पाहुनालाई सेवा दिन सकेका छैनौँ ।’ गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयका लागि गोरखा नगरपालिकाले चालु वर्ष पाँच लाख, शिक्षा बिकास तथा समन्वय इकाईले दुई लाख ४० हजार दिएको छ । ‘यी बाहेक पुजापाठमा गरेको दान, दक्षिणा र सहयोगबाट विद्यालय चलेको छ’ शिक्षक उपाध्यायले भने ।

गोरक्षनाथ बैद्धिक गुरुकुल विद्यालय संचालनका लागि करिब एक लाख ५० हजार मासिक खर्च लाग्ने उनले बताए । अहिले यहाँ तीन जना शिक्षक कार्यरत छन् । प्रेम नारायण देवकुमारी स्मृती प्रतिष्ठानले दिएको १० लाख सहित बिभिन्न स्थानीय तह, ब्यक्तिहरु, संघ संस्थाको गरी ४४ लाख ५६ हजार रुपैयाँको अक्षयकोष विद्यालयमा रहेको छ । ‘अक्षयकोषबाट आएको ब्याजले केहीहद सम्म विद्यालय चलाउन सजिलो भएको छ’ उनले भने । कुनै शुभ कार्य गर्नुपर्दा र चाडपर्वमा गुरुकुलमा पढ्ने बटुकहरुबाट सुभारम्भ गराउने प्रचलन पछिल्लो समय गोरखामा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्