
चितवनमा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाईयो
चितवनका कुखुरामा बर्डफ्लु देखिएपछि गोरखामा निग्रानी बढाइएको छ । बर्डफ्लु रोग नियन्त्रण संम्बन्धी मंगलवार बसेको सरोकारवालाहरुको बैठकले गोरखा भित्रने नाकामा निग्रानी बढाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्रने तथा बाहिरिने पन्छी तथा पन्छीजन्य पदार्थ ढुवानी गर्दा पशु चिकित्सकबाट जारी भएको स्वास्थ्य प्रमाण पत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । गोरखाका नाकाहरुमा पशुपन्छीको चेकजाँच गर्ने, स्वस्थताको प्रमाण पत्र भए नभएको हेर्ने र नभएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पन्छीजन्य पदार्थ नष्ट गर्ने निर्णय भएको छ ।
गोरखामा बर्डफ्लु भए नभएको पहिचान गर्न रोग सर्भिलेन्स टिमलाई पंन्छी फार्म र मार्केट सर्भिलेन्स गराई नमुना संकलन गरेर पशुपंन्छी अन्वेषण तथा प्रयोगशालामा परिक्षका लागि पठाउने निर्णय भएको भेटेरिनरी अस्पतालका प्रमुख डाक्टर सर्मिला कुमालले बताईन ।
बर्डफ्लु रोगबाट बच्न सर्वसाधारणलाई सचेत गराउने, पंन्छी पालक कृषकको लागि सुरक्षाका सम्पूर्ण गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । गोरखाको आरुघाट गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिकाको नाकामा निग्रानी बढाउने र नेपाल प्रहरीले पंन्छी निरोगिताको प्रमाण पत्र कडाईका साथ जाँच गर्ने भएका छन् । कुखुरा व्यवसायी परशुराम सिं बस्नेतले गोरखामा चल्ला आयात धेरै हुने भएकाले निगरानी गर्नुपर्ने बताए ।




