
जनप्रतिनिधिले गरेको प्रगतिको फेहरिस्ता मागौँ
स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पाँचबर्षे कार्यकालभरि के कति काम गरे ? राम्रो काम गरे वा नराम्रो काम गरे ? राम्रो काम गरेँ भन्ने दाबी गरिरहेका छन् भने पनि त्यो कामले नागरिक कत्तिको प्रभावित बने ? यसको जवाफ सोध्ने बेला आएको छ ।
चुनावअघि जनतासामु गरेका प्रतिवद्धता, जनतासामु पेश गरेका घोषणापत्र, जनता माझ गरेका बाचा कति पूरा गरे, कुन कुन बाचा पूरा गर्न सकेनन् ? किन सकेनन् ? यी सबै जवाफ माग्ने बेला भएको छ । किनभने स्थानीय तहको दोस्रो निर्वाचन घोषणा भएको छ ।
दोस्रो अवधिको चुनावमा पनि कतिपय पुरानै अनुहारले दोहो¥याउने मनाशय व्यक्त गरेका छन् । पहिलो चरणमा काम गर्ने प्रक्रिया, पद्धति सिकेका छन् । पुरानो अनुभवले अबको दोस्रो कार्यकालमा लागु गर्न सजिलो हुन्छ भन्ने एउटा तर्क त आउला । यो कार्यकालको तीनबर्ष कोभिडले अपेक्षाकृत काम गर्न नदिएको सत्य हो ।
यसरी सोच्दा एकहदसम्म यो तर्क बेठिक त छैन, तर यदि पहिलो कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेका भए, यो पाँच बर्षे कार्यकालमा असफल जनप्रतिनिधि सावित भएको भए पुन दोहो¥याउनु पालिकाका तथा वडाका लागि अभिसाप सिद्ध हुनेछ ।
त्यसैले उनीहरुले गरेका कामको पुनरावलोकन गर्नु अपरिहार्य छ । प्रश्न मात्र गर्दा पनि कम्तिमा उनीहरु जवाफदेही बन्छन् । जनतालाई जवाफ दिनुपर्छ भनेर सचेत हुन्छन् ।
नेपाली कांग्रेसले यसको सुरुवात गरेको छ । यो सकारात्मक पक्ष हो । अरु राजनीतिक पार्टीबाट विजयी जनप्रतिनिधिहरुलाई पनि यसरीले कार्यकालभरि गरेको कामको फेहरिस्ता पेश गर्न लगाउनु पर्छ । फेरि पनि टिकट मानेमा उनीहरुलाई टिकट दिने कि नदिने भन्ने बलिया आधार पनि यो हुनेछ ।




