
गोरखा बहुउद्देश्यीय सभाहल निर्माणमा ढिलाइ
केशव गुरुङ
गोरखा नगरपालिका वडा नं ७ नयाँ वसपार्कमा निर्माणधीन बहुउद्देश्य सभाहल निर्माण कार्यमा ढिलाई भएको छ । जिल्लामा ठूला सभा समारोह गर्नका लागि ब्यबस्थित हलको अभाव भएकाले सभाहल निर्माण गरिएको हो ।
संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनुसार तीनबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ माघ तीन गतेबाट काम सुरु भएको थियो । तर लक्ष्य अनुसार काम हुन नसकेको इकाईका सवइन्जिनीयर पुरुषोत्तम पँगेनीले बताए । निर्माणको जिम्मा पाएको रविना डाँफे जेभीले सम्झौता अनुसार २०७७ को माघ २ सम्ममा सभाहल निर्माण गरिसक्नुपर्ने थियो । तर निर्माण सुरु भएको पाँचबर्ष भइसक्दा समेत हालसम्म सभाहल निर्माण कार्य भौतिक प्रगति ७५ प्रतिशत रहेको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका इन्जिनियर पंगेनीले बताए । बहुउद्देश्य सभाहल बिभिन्न चार ब्लकमा बिभाजन गरेर निर्माण भइरहेको छ ।
‘सभाहलको धमाधम काम भइरहेको छ । हाल बि थ्री र बि फोर कमप्लीट भइसकेको छ । फिनिसिङ काम मात्र बाँकी छ । बि टु को ढलान गर्न बाँकी छ, अव धेरै बाँकी छैन, केही फिनिसिङ गनुपर्ने काम मात्र बाँकी छ,’ उनले भने । सम्झौता भएको समय अवधिमा काम नसकेपछि पहिलो पटक २०७७ माघ ३ गतेदेखि २०७८ साउन २ गतेसम्म म्याद थप गरेको थियो । तर सो समयमा पनि काम सम्पन्न हुन सकेन । पुन दोस्रो पटक २०७८ साउन ३ गतेदेखि चैत्र मसान्तसम्म म्याद थप गरिएको छ ।
अहिले सभाहल निर्माण कार्य करिब अन्तिम चरणमा पुगको बताउदै सभाहलको माथि ट्रस्ट राख्न बाँकी रहेको र आर्थिक असार मसान्तसम्म काम सक्ने लक्ष्यका साथ रहेको इन्जिनियर पँगेनीले जानकारी दिए । कोभिड, लकडाउनका र कामदार अभावका कारण सभाहल निर्माण कार्यमा ढिलाई भएको उनको भनाइ छ ।
साविकको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले तयार पारेको डिजाइन अनुसार सभाहल निर्माण गरिहेको छ । साविकको भवन डिभिजन कार्यालयले २०७५ सालमा सभाहलको निर्माण जिम्मा संघीय आयोजना कार्यान्वन इकाईलाई सुम्पिएका थिए । तीन तहका सरकार बनेपछि सभाहल निर्माणको योजना संघीय सरकार मार्फत कार्यान्वयन हुने क्रममा संघीय आयोजना कार्यान्वयन इकाई कास्की मातहत निर्माण भएको हो ।
३४ करोड ९० लाख ४६ हजार रुपैयाँको लागतमा सभाहल निर्माण भइरहेको छ । १२ रोपनी क्षेत्रफलमा निर्माणाधिन सभाहलमा सात सय ५० जना मानिस अट्न सक्ने क्षमता रहेको कार्यालयले जनाएको छ । सभाहल निर्माणका लागि पेश्की बाहेक १८ करोड ७४ लाख रुपैया भुक्तानी भएको भइसकेको कार्यालयले जनाएको छ ।




