
जनप्रतिनिधिले गरेका काम सन्तोषजनक रहेको गोरखा कांग्रेसको निश्कर्ष
नेपाली कांग्रेसबाट टिकट पाई स्थानीय निर्वाचनमा चुनिएका जनप्रतिनिधिले सन्तोषजनक काम गरेको गोरखा कांग्रेसले निश्कर्ष निकालेको छ । शनिवार र आईतवार दुईदिन स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु सँगको छलफलपछि कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो ।
‘पहिलो पटक स्थानीय तहको अभ्यास भयो, कानुन बनाउनुपर्ने जिम्मेवारीले केही समय लाग्यो’, कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘सिमित साधन स्रोत र जनताको धेरै अपेक्षाका बिच जनप्रतिनिधिले यत्तिको काम गर्नुलाई सन्तोषजनक भन्न सकिन्छ ।’ कांग्रेस गोरखाले जनप्रतिनिधिसँग पाँच वर्षको अवधीमा गरेका कामको प्रगति बिवरण माग गर्दा सो निश्कर्ष निकालिएको उनले बताए ।
जनप्रतिनिधिहरुले आफ्नो वडा÷पालिकामा भएका कामको बिवरण पार्टीमा पेश गरेका छन् ।
‘संविधान र कानुनभित्र रहेर काम गर्नुपर्ने बाध्यता छ’, जिल्ला सभापति न्यौपानेले भने, ‘कामको बिवरण हेर्दा स्थानीय तहमा बिकासको गति सुरु भएको छ ।’ गोरखा दुर्गम जिल्ला रहेको र यहाँ अहिलेको बजेट, स्थानीय तहको साधन स्रोतले मात्रै बिकासमा कायापलट हुन नसक्ने बताउँदै उनले जनप्रतिनिधिले राम्रो काम गर्न प्रयास जारी राखेको बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सामाजिक क्षेत्रमा के कति काम भए, कसरी भए, भएन भने किन भएन भन्ने बारे कांग्रेसबाट बिजयी जनप्रतिनिधिसँग बिवरण माग गरिएको थियो ।
पूर्वाधार, सामाजिक क्षेत्र, धार्मिक, खेलकुद क्षेत्र, सांस्कृतिक क्षेत्रमा जनप्रतिनिधिले उलेख्य काम गरेको दावी जनप्रतिनिधिले गरेका छन् । जनप्रतिनिधिले लिखित रुपमा पेश गरेको बिवरण अनुसार काम भए नभएको बारेमा पालिकामा पार्टीका नेता कार्यकर्ता, जनतासँग बुझ्ने सभापति न्यौपानेले बताए । ‘यहाँ भने अनुसार काम भए नभएको बारेमा पार्टीका साथीहरुसँग पनि छलफल हुन्छ, जनतासँग पनि बुझ्छौँ’ उनले भने । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेस गोरखाले निर्वाचन केन्द्रित गतिविधि थालेको छ ।
यस अघिको निर्वाचनमा ९ वटा स्थानीय तहमा प्रमुख विजयी कांग्रेस गोरखामा सबैभन्दा धेरै ४५ वटा वडा जित्ने पार्टी हो । यो बिरासत जोगाउँदै कांग्रेस थप स्थानीय तह जित्ने दाउमा छ भने अन्य पार्टीले पनि सोही अनुसार गतिविधि जारी राखेका छन् । कस्ता ब्यक्तिलाई उम्मेदवार चयन गर्ने भन्ने बारेमा पूर्व जानकारी लिन पनि कांग्रेसले छलफल चलाएको सचिव कृष्ण आलेले बताए । कार्यदक्षता, क्षमता भएको, जनताले विश्वास गर्न सक्ने, जनप्रिय, पार्टीमा योगदान गरेकाहरु टिकटको प्राथमिकतामा रहने कांग्रेस सभापति न्यौपानेले बताए ।




