| सोमवार, कार्तिक २३, २०८३

घैरुङमा प्रहरी चौकी स्थापना

शहीदलखन गाउँपालिका वडा नं ६ घैरुङमा प्रहरी चौकी स्थापना भएको छ । प्रत्येक पालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकी स्थापना गर्ने सरकारी नीति अनुसार शनिबार सो गाउँपालिकामा पनि प्रहरीचौकी स्थापना गरिएको हो ।
नवस्थापित प्रहरी चौकीको गाउँपालिकाका प्रमुख रमेश थापामगरले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा मगरले समाजमा शान्ति, सुशासन र अमनचयन कायम गरी विकृति विसंगतिलाई कमी गर्न प्रहरी चौकी स्थापना गरिएको बताए । मन्त्रिपरिषदको २०७६ असोज ७ गतेको निर्णय र गाउँपालिकाको २०७८ साउन २० गतेको निर्णय अनुसार गाउँपालिका केन्द्र घैरुङमा प्रहरी चौकी स्थापना गरिएको उनले जानकारी दिए । उनका अनुसार हाल भाडाको घरमा प्रहरी चौकी स्थापना गरिएको छ । मासिक भाडा गाउँपालिका व्यवस्थापन गर्ने र नयाँ भवनका लागि जग्गा प्राप्तीको प्रक्रियमा रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरी चौकी स्थापना भएसँगै विना भेदभाव नेपाल प्रहरीले सेवा प्रवाह गर्नुपर्ने, चुनावको घोषणा भएकाले जोखिम सम्भावित क्षेत्रको पहिचान गर्नुपर्ने बताए । त्यस्तै, प्रहरी उपरीक्षक शेखर खनालले नागरिकको सही सूचना नै प्रहरीको लागि प्रमुख हतिहार भएको र कानूनको उल्लंघन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन नेपाल प्रहरी लागि पर्ने बताए । अपराधमुक्त समाज निर्माण गर्न नागरिक र प्रहरीबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष थापामगरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, प्रहरी कर्मचारी, विभिन्न पार्टीका राजनीतिक दलका प्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्